काठमाडौं : जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायतलाई थुनामा राख्न आदेश गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जन सहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको हो । महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३० जनाविरुद्ध ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराध गरी १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतमा २१ जेठदेखि नक्कली शरणार्थी प्रकरणमाथि थुनछेक बहस चल्यो । मंगलबार नै आदेश गर्ने गरी सुनुवाइको योजना बने पनि बहस लम्बियो र शुक्रबार इजलासले १६ जनालाई पुर्पक्षका लागि जगन्नाथ देवल (सुन्धारा) कारागार पठाउन आदेश दिएको छ ।
योजनाकार मानिएका केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा रहनेछन् ।