नेपालगन्ज : नेपाल विद्यालय कर्मचारी परिषद्ले बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय बन्द घोषणा गरेको छ । आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नभएको भन्दै बन्द घोषणा गरिएको हो ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधा लगायत विषयलाई गत जेठ १५ गते सार्वजनिक बजेटले सम्बोधन नगरेको भन्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले असार ३ गते आईतबारदेखि विद्यालय बन्द घोषणा गरेको हो ।
बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले गत जेठ २० गतेदेखि तालाचाबी विद्यालयमा बुझाएर आन्दोलनमा उत्रिएका छन् । बाँकेसहित देशभर आन्दोलित उनीहरुले केन्द्रिय परिपत्र अनुसार आन्दोलन गरिरहेको परिषद् बाँकेका अध्यक्ष कृष्ण कुवँरले बताए ।
आन्दोलन कार्यक्रम अन्र्तगत कर्मचारीहरुले गत जेठ २६ गतेसम्म सम्बन्धित स्थानीय तह र शिक्षा तथा समन्वय इकाईमा धर्ना दिएका थिए । जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौँको भद्रकालीमा रिले अनसन बस्नुका साथै जेठ २८ गते भद्रकालीदेखि बानेश्वरसम्म बागमती प्रदेशका १३ वटा जिल्लाका विद्यालय कर्मचारीले थाल बजाउँदै र्याली समेत प्रर्दशन गरेका गरेका थिए ।
त्यसपछि पनि मागप्रति सुनुवाई नगरेको भन्दै असार ३ गतेदेखि बाँकेका सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने घोषणा गरिएको कुँवरले बताएका छन् । ‘सरकारले पटक-पटक धोका दियो, आश्वासन मात्र दियो, तर माग पूरा गरिदिएन, हामी बाँच्ने आधार नै राखिएन, विद्यालयमा काम गर्दागर्दै उमेर बित्न लाग्यो,’ अध्यक्ष कुँवरले भने ।
परिषद बाँकेले पूर्वघोषित कार्यक्रम अनुसार असार ३ गते आइतबारदेखि बाँकेका सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्न लागेको भन्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई पत्र समेत बुझाइसकेको छ । परिषद्ले शिक्षा विकास तथा समन्वय इकाई, बाँके, ८ वटै स्थानीय तह, सबै सामुदायिक विद्यालय र विभिन्न पेशागत शिक्षकका संगठनलाई समेत उक्त पत्र बोधार्थ पठाएको छ ।