नेपालगन्ज : वातावरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरे वापत नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले ‘साउथ एसियन कलाईमेट एक्सन कन्फ्रेन्समा एभरेस्ट कलाईमेट एक्सन अवार्ड-२०२३’ बाट सम्मानित भएका छन् ।
नेपालगन्ज-१९ निवासी उनी काठमाडौमा आयोजित एक समारोहमा प्रमुख अतिथी एवम् उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट सम्मानित भएका हुन् । काफ्लेले उपराष्ट्रपतिलाई सितलचिनीको विरुवा उपहार पनि दिएका थिए । वातावरण संरक्षणमा रुची राख्ने शुभेच्छुक एवम् शुभचिन्तकको जन्मदिन थाहा पाएपछि उनी घरमै पुगेर विरुवा उपहार दिन्छन् ।
आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निःशुल्क रुपमा विरुवा उपहार दिने काम कफ्लेले गर्छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, पुर्बराष्ट्रपति बिद्यादेवी भण्डारी, पुर्वराजा ज्ञानेन्द्र शाह, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगायत थुप्रै नेता, मन्त्री, कलाकार, पत्रकार लगायतलाई निम, जामुन, अमला र सितल चिनीको बिरुवा उपहार दिइसकेका छन् । उनले रुखप्रति सबैको माया बढोस् भनेर यसरी बिरुवा दिने गरेको बताउँछन् ।
अभियन्ता काफ्लेले यसअघि पनि विभिन्न सम्मान प्राप्त गरिसकेका छन् । समरस्ता इन्टरनेश्नल अवार्ड भारत, ग्रिन युथ अवार्ड कायुन्सिल अफ पिस युक्रेन, वन पैदवारको राष्ट्रिय सम्मेलनमा तत्कालिन वनमन्त्री बिक्रम पाण्डेबाट हरित अभियन्ता राष्ट्रिय सम्मान, बास ब्राइट्ल्याण्ड अवार्ड, (डब्लु.डब्लु.एफ.) विश्व वन्यजन्तु कोषको संरक्षण अवार्ड-२०२१ प्राप्त गरिसकेका छन् ।