नेपालगन्ज : बाँकेका ८ वटै स्थानीय तहमा गाउँसभा गर्ने चटारो सुरु भएको छ । सबै स्थानीय तहले असार १० गते भित्र आफ्नो सभा सुरु गर्नुपर्ने नीतिगत ब्यवस्था छ । सोही अनुसार आगामी असार १० गते भित्रमा सभा सुरु गर्ने तयारी गरेका हुन् ।
बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, नरैनापुर, बैजनाथ, डुडुवा, जानकी र खजुरा गाउँपालिका रहेका छन् । जानकी गाउँपालिकाले बिहीबार (आज) सभा गर्दैछ ।
गाउँ सभा बिहान ११ बजेतिर गाउँपालिका कार्यालय मानपुरमा सुरु हुने अध्यक्ष छब्बन खाँले बताए । यस्तै डुडुवा गाउँपालिकाले शुक्रबार(भोली) सभा सुरु गर्ने गरी तयारीका कामहरु अगाडी बढाइएको जनाएको छ । १४ औं गाउँ सभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
स्वास्थ्य र पशु क्षेत्रमा उत्कृष्ट कार्य गरेको डुडुवाले आगामी वर्षदेखि शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । यसैगरी नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन सभाको आवश्यक तयारी गरिरहेको जनाएको छ ।
गाउँ सभामा पेश हुने नीति तथा कार्यक्रम र बजेटको सबै तयारी पुरा भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । बस्ती स्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनको काम पुरा गरेको गाउँपालिकाले पठाएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बस्ती स्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने तयारी गरिएको बताएका छन् । मुलुकको आर्थिक तरलतालाई मध्यनजर गर्दै यसपटक संघीय र प्रदेश सरकारबाट स्थानीय तहलाई प्राप्त हुने बजेटमा कटौती गरिएको छ । यसले गर्दा स्थानीय तहले पनि आफ्नो बजेटको मात्रा घटाउने अवस्था देखिएको छ ।
२०७९ बैशाख ३० गते सम्पन्न निर्वाचन पश्चात स्थानीय तहका प्रतिनिधित्व गरेका जनप्रतिनिधिले ल्याउन लागेको यो दोस्रो नीति तथा कार्यक्रम र बजेट हो । बाँकेका स्थानीय तहले कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउँछन् ? भन्नेमा आम नागरिकले चासो राखेका छन् ।