नेपालगन्ज : सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई शुक्रबार कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, उपसभापति कृष्ण कार्की लगायतले ज्ञापनपत्र बुझाइएका हुन ।
काँग्रेसले मल र बीउको अभाव, चर्को महंगी, कालोबजारी, असारे विकास, विपत पूर्व तयारी, अनियमित विद्युत लगायत विषयलाई ज्ञापनपत्रमा समेटेको छ ।
ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउ उपलब्ध गराउनुपर्ने, विपत (बाढी पहिरो) नियन्त्रण गर्न प्रभावकारी पूर्व तयारी गर्नुपर्ने, देश चरम आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको समयमा उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि भई आफ्नो दैनिक जीवनयापनमा समेत कठिनाई भइरहेको हुँदा मूल्य नियन्त्रणका साथै कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने उल्लेख छ ।
यस्तै राज्यका विभिन्न निकायबाट हुने विकास निर्माणका कार्यहरु असारे विकासका नाममा गुणस्तरहिन हुने हुँदा प्रभावकारी अनुगमनका साथै गुणस्तर परीक्षण गर्नुपर्ने र अनियमित विद्युतका कारण जनताको दैनिकीमा समेत प्रभाव परिरहेको हुँदा नियमित विद्युत उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बुँदाहरु ज्ञापन पत्रमा समेटिएको छ । 'जनताका सुख दुःख, पिरमर्का, दैनिक समस्या र विषम परिस्थितीमा हामी जनतासंँगै छौं,' अधिकारीले भने ।