बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ ।
गाउँपालिका कार्यालयमा शनिबार आयोजित नियमित गाउँ सभामा अध्यक्ष प्रकाशबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले हात उठाएर सर्वसम्मत रुपमा पारित गरेका हुन् ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, कृषि तथा सिचाई र भू-उपयोग, सहकारी, पशुपंक्षी र मत्स्यपालन, घरेलु तथा साना उद्योग, वाणिज्य तथा ब्यापार, रोजगारी, युवा तथा खेलकुद, पर्यटन प्रवद्र्धन र धर्म, सँस्कृति र कला, भौतिक पुर्वाधार, वन वातावरण तथा विपद ब्यवस्थापन, सुशासन तथा सेवा प्रवाह, न्यायिक, लैगिक समानता नागरिक सामाजिक समावेशीकरण लगायत विषयमा कार्यक्रम गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिकाले आइतबार पुनः गाउँसभामार्फत आगामी वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । गाउँसभा आइतबार अपरान्ह बस्ने तय भएको छ ।
उपाध्यक्ष निर्मला रोकायले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछिन् । गाउँसभाको पहिलो शत्रमा प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद आशा बिक र विशिष्ट अतिथी एवम् प्रदेश सभाका सांसद रत्न खत्रीले सम्बोधन गरेका थिए । सभामा उपस्थित सबैलाई प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले स्वागत गरेका थिए ।