बाँके(नरैनापुुर) : नरैनापुर गाउँपालिकाले आगामी वर्षका लागि ४८ करोड ६२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा आइतबार उक्त बजेट प्रस्तुत गरिएको हो ।गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस्तै सभामा कार्यपालिका सदस्य समेत रहेका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले आगामी वर्षका लागि ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरे । प्रस्तुत नीति तथा कार्यक्रममा खस्कदै गरेको शैक्षिक गुणस्तरलाई उकास्ने गरी सामुदायिक बिद्यालयले प्रदान गरेका सेवालाई प्राथमिकतामा राखिएको छ ।
अल्पसंख्यक, जेहेन्दार र सामुदायिक विद्यालमा अध्ययनरत अतिविपन्न वर्गका बालबालिकाको लागि १२ कक्षा सम्म निःशुल्क पठन पाठनको व्यवस्थाप मिलाइने, जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्दलाई प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५ करोड ७० लाख विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ३ करोड ३० लाख विनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि १० करोड विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रको लागि २० करोड बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई सभाका सदस्यले सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले जानकारी दिए । गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न सभाको पहिलो शत्रमा प्रतिनिधि सभाका सांसद सुर्य ढकाल, लुम्बिनी प्रदेशका सांसद एवम् पुर्वमन्त्री कृष्णा केसी ‘नमुना’, नेपाली काँग्रेसका नेता रामचन्द्र मौर्य लगायतको उपस्थिती रहेको थियो ।
सभामा उपस्थित भएका प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अतिथीलाई सम्मान गरिएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत खरालले स्वागत गरेका थिए, भने जिन्सी शाखा प्रमुख भरत महत्तोले सञ्चालन गरेको लेखापाल प्रकाश अधिकारीले जानकारी दिएका छन् ।