बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६९ करोड ९९ लाख ३५ हजार ९ सय ७५ रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालय रामपुरमा आइतबार बसेको गाउँसभामा उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा संघीय समानीकरणतर्फ १५ करोड २० लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण १ करोड १४ लाख ६३ हजार, संघीय सरकार सशर्त चालु रकम २९ करोड ७ लाख, संघिय सरकार सशर्त पूँजिगत रकम २ करोड ८८ लाख रहेको छ ।
यस्तै प्रदेश सरकार सशर्त चालु १६ लाख ५० हजार, प्रदेश सरकार सशर्त पुँजीगत रकम ६५ लाख, संघीय सरकार विशेष अनुदान रकम १ करोड, संघीय सरकार समपुरक अनुदान रकम ६० लाख, प्रदेश सरकार समपुरक अनुदान रकम १ करोड रहेको छ ।
यसैगरी संघिय सरकार राजश्व रकम १२ करोड ५६ लाख ८४ हजार, प्रदेश सरकार राजश्व रकम ७१ लाख ३८ हजार ९ सय ७५, आन्तरिक आय ३ करोड ५० लाख, घर जग्गा रजिस्ट्रेसन वापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिव १ करोड ५० लाख गरी कूल ६९ करोड ९९ लाख ३५ हजार ९सय ७५ रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।
प्रस्तुत बजेटमा भौतिक पूर्वाधारतर्फ गाउँपालिकामा रहेका ८ वटै वडा तथा गाउँपालिकालाई भौतिक पूर्वाधार अन्तर्गत ६ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ । न्युनतम बजेट अनुदान, जनसंख्या, भूगोल र राजश्वको आधारमा करिव ५०५ बजेट कायम गरी प्रत्येक वडालाई बजेट बाँडफाँड गरिएको छ ।
न्युनतम अनुदान प्राप्त गर्ने बजेटलाई ६० प्रतिशत गरी बाँकी रहेको बजेटलाई जनसंख्याको आधारमा ४० प्रतिशत, भूगोलको आधारमा ४० प्रतिशत र राजश्वको आधारमा २० प्रतिशत बजेट कायम गरी बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले यसअघि शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरिसकेका छन् ।
सम्बन्धित समाचार पढ्नुस् :
बैजनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित-(फोटो फिचर)
बैजनाथको आज नीति तथा कार्यक्रम बजेट आउँदै
बैजनाथको नीति तथा कार्यक्रम र बजेट निर्माणबारे सुझाव संकलन-(फोटो फिचर)