नेपालगन्ज : बाँकेका स्थानीय तह(सरकार)ले साढें ६ अर्ब बढी बजेट प्रस्तुत गरेका छन् । सबै स्थानीय तहले असार १० गतेभित्रमा आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने नीतिगत ब्यवस्था रहेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लाका ८ वटै स्थानीय तहले ६ अर्ब ५३ करोड १७ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख १ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
१३ औं नगर सभामा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्धिन राईले बार्षिक बजेट प्रस्तुत गरेका थिए । जिल्लाकै कोहलपुर नगरपालिकाले पनि एक अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगिता कुमारी सुवेदीले बजेट प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिइएको जनाएको छ ।
यस्तै राप्ती सोनारी गाउँपालिकाले कुल ८० करोड ९१ लाख २८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे, भने उपाध्यक्ष मनिषासिंह थारुले उक्त बजेट प्रस्तुत गरिन् । बैजनाथ गाउँपालिकाले ६९ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्यो ।
उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी हुन् । १३ औंँ सभामा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जिल्लाको जानकी गाउँपालिकाले ४६ करोड १० लाख ८९ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले १३ औं गाउँसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा सबैभन्दा बढी शिक्षातर्फ १४ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख बजेट विनियोजन गरेको छ । संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ । उक्त सभामा गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट वडाअध्यक्ष टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी खजुरा गाउँपालिकाले कूल ८३ करोड ३९ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । १३ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले उक्त बजेट प्रस्तुत गरिन् । सोही सभामा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.कले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
गाउँपालिकाले सामाजिक विकासतर्फ ५ करोड ४५ लाख ९८ हजार, शिक्षातर्फ ३ करोड ५१ लाख ४६ हजार, आर्थिक विकासमा ३ करोड १४ लाख ६० हजार, कृषि तथा सिँचाइतर्फ १ करोड १२ लाख, स्वास्थ्यतर्फ ८५ लाख ५२ हजार बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख २ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवका तर्फबाट वडाअध्यक्ष एवम कार्यपालिका सदस्य कृष्णचन्द्र मौर्यले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले सामाजिक विकास क्षेत्रको लागि २० करोड, पूर्वाधार विकासका लागि १० करोड विनियोजन गरेको छ । जिल्लाकै डुडुवा गाउँपालिकाले ४८ करोड ८४ लाख ३४ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । गाउँपालिका उपाध्यक्ष साहिदा बानोले उक्त बजेट प्रस्तुत गरिन् ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण, चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना लगायत पूर्वाधार निर्माण गर्ने नीति ल्याएको छ ।