नेपालगन्ज : ईश्वा इलेक्ट्रो बाइक कम्पनीको कन्ट्री डिलर नेपालगन्जमा खुलेको छ । ब्याट्रीबाट चल्ने विभिन्न ५ मोडेलका स्कुटरको आधिकारिक विक्रेता ललिता ईजी मार्ट सप्लायर्सले उक्त कम्पनीको कन्ट्री डिलर लिएको हो ।
उक्त डिलरको कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शुक्रबार उद्घाटन गरे । ललिता ईजी मार्ट सप्लायर्सका सञ्चालक ललितकुमार रौनियारले उक्त कम्पनीका आफुसँग विभिन्न ५ मोडेलका इलेक्ट्रीक स्कुटर उपलब्ध रहेको बताए ।
आफुसँग एक लाख ५७ हजार ६ सय ६७ रुपैयाँदेखी २ लाख ४८ हजार ६ सय ४७ रुपैयाँ मुल्यसम्मका स्कुटर उपलब्ध रहेको उनले जनाए । उक्त स्कुटरमा १ हजार ‘वाट’ देखी १८ सय ‘वाट’ क्षमताको ‘पिक पावर’ रहेको उनले सुनाए । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मुल्य बढ्दै गएको अवस्थामा इलेक्ट्रीक स्कुटरको माग बढेकाले नेपालको आधिकारिक डिलर नेपालगन्जमा खोलिएको बताए ।
तर, सरकारले इलेक्ट्रीक स्कुटरलाई प्रवद्र्धन गर्नुपर्नेमा उल्टै कर थुपारेर ब्यवसायीलाई निरुत्साहित पार्ने काम गरेको गुनासो पोखे । ‘सरकारले रोड मेन्टिनेन्स कर भनेर प्रति स्कुटर १० हजार रुपैयाँ लिन्छ, यातायात कार्यालयले छुट्टै कर असुल्छ,’ उनले भने ‘जताततै कर तिर्ने भएपछि इलेक्ट्रीक सवारी साधनको प्रयोगमा आर्कषण नबढ्न सक्छ ।’
नेपाल सरकारले इलेक्ट्रीक स्कुटर, मोटरसाईकल र गाडी चढ्नेलाई सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने रौनियारको सुझाव छ । ईश्वा इलेक्ट्रो बाइक कम्पनी भारतका नितिन गोरिवाले आफ्नो कम्पनीको उत्पादन भारतमा राम्रै बिक्री भएको बताए । मुम्बईमा प्रधान कार्यालय रहेको उक्त कम्पनीले भारतका विभिन्न १२ प्रदेशमा ८० वटा डिलर स्थापना गरेको जानकारी दिए ।
अब बंगलादेशमा पनि चाडै कन्ट्री डिलर खोल्ने तयारीमा रहेको गोरिवाले बताए । कम्पनीले सन् २०२१ अक्टोबरदेखी इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको हो । कम्पनीले मासिक ७ सय थान इलेक्ट्रीक स्कुटर बिक्री गर्ने गरेको छ ।