नेपालगन्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् । नेपालगन्जमा सोमबार लुम्बिनी प्राविधिक विश्व बिद्यालयको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदुरपश्चिमको गन्तव्यका रुपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रुपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका राठौरले हुने खानेका छोरा छोरी काठमाडौं लगायत अन्य क्षेत्रमा गएर अध्ययन गरेपनि प्राविधिक विश्व विद्यालयले गरिब र निम्न बर्गका जनताले बाँकेमै प्राविधिक शिक्षा पाउने बताए ।
पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता बारे बोल्दै राठौरले भने, ‘कोरा शिक्षाले बेरोजगार उत्पादन गर्ने भएकाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा नै भएको छ ।’ बाँकेबासीको लागि विश्व विद्यालय स्थापना हुनु गर्वको कुरा भएको उनको भनाई छ ।
यस्तै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले विश्व विद्यालय लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्नमा प्रदेश सरकारको ध्यान रहने बताए । मुख्यमन्त्री चौधरीले विश्व विद्यालयका लागि सेवा समिति समेत नियुक्त गरिसकेको र अब अन्य कुरालाई कमशः पूर्णता दिदै लैजाने बताए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्बमुख्यमन्त्री कुलप्रसाद केसी, प्रतिनिधिसभा सदस्य दिपा शर्मा, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, प्रदेशसभा सदस्य सञ्जु कुमारी थारु, विश्व विद्यालयका उपकुलपति प्रा.डा. बिनोद ढकाल, कुल सचिव रेगबहादुर भण्डारी, विश्वविद्यालयका अन्य कर्मचारीहरु, बाँके र बर्दियाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।