बाँके (बैजनाथ) : बैजनाथलाई पोषणमैत्री गाउँपालिका घोषणा गर्नमा आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । बैजनाथ गाउँपालिकाको सहयोगमा समृद्धिका लागि सञ्चार नेपालले बैजनाथ-४ मा आयोजना गरेको ‘पोषणमैत्री गाउँपालिका घोषणाको आधार तयार गर्न वडा स्तरीय सचेतना मुलक’ कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष शाहीले यस्तो धारणा राखेका हुन् ।
‘समृद्धि एक चिजबाट हुन सक्दैन, सबै कुरा मिल्यो भने मात्र समग्र गाउँपालिका समृद्ध हुने हो, गाउँपालिका समृद्ध हुनका लागि पोषणमैत्री गाउँपालिका घोषणा हुन जरुरी हुन्छ,’ उनले भने ‘पोषणमैत्री गाउँपालिका घोषणाका लागि आवश्यक सहयोग गर्न हामी प्रतिवद्ध छौं ।’
पोषणमैत्री गाउँपालिका घोषणाका लागि आधार तयार गर्ने विषयमा सर्बसाधारण नागरिकलाई पोषण सम्बन्धी कुरा बुझाउन तयार रहेको वडाअध्यक्ष शाहीले बताए । मानिसका लागि सबैभन्दा आवश्यक कुरा स्वास्थ्य भएको उनले जोड दिए । ‘स्वास्थ्य राम्रो भएन भने बाँकी केही काम हुदैन, स्वास्थ्य राम्रो हुनका लागि पोषण चाहिन्छ, पोषणयुक्त खाना चाहिन्छ,’ गाउँ कार्यपालिका सदस्य समेत रहेका शाहीले भने । गरिबीका कारण नेपाली नागरिकले पोषणयुक्त खाना खान नपाउने गरेको बताए ।
सो क्रममा वडा नम्बर ४ का वडा सदस्यद्धय रामचन्द्र थारु र बालकुमारी परियार, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, वडा नम्बर ४ का सचिव तिलक खत्री, समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओली, कोषाध्यक्ष बिमला चौधरी, सहजकर्ता विजय मल्ल, गाउँपालिका स्तरिय बाल क्लब सञ्जालका अध्यक्ष कमल बिसी, स्वास्थ्य चौकीका सिनियर अहेव जीवन ऐडी, अन्य स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका, कर्मचारी, बाल क्लबका प्रतिनिधि लगायतले पोषणमैत्री गाउँपालिका घोषणाको आधार तयार गर्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए ।