कोहलपुर : कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा संकलन गरेर मन्दिर स्थापना गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पौड्यालले विभिन्न व्यक्ति र संस्थाहरूबाट सहयोग संकलन गरेर मन्दिर निर्माण गरिएको जनाकारी दिए । ‘विद्यालयमा विद्याकी देवी सरस्वती माताको मन्दिर थिएन, चन्दा संकलनबाटै मन्दिर स्थापनाको पहल थालेका थियौं, सफल पनि भयौं, खुसी लागेको छ,’ उनले भने, ‘यो कार्यमा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
विद्यालय परिसरमा स्थापना गरिएको सरस्वती मन्दिरको बिहीबार उद्घाटन गरियो । उक्त मन्दिरको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै उनले बिद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफूले सक्ने सहयोग गर्ने बताइन् ।
उनले भनिन्, ‘मेरो निर्वाचन क्षेत्र यहाँ नभए पनि मेरो घर र मत हाल्ने क्षेत्र चाहिँ यही नै हो, कोहलपुरको विकासमा मेरो सधैं चासो र चिन्ता रहन्छ, आफ्नो ठाउँबाट गर्ने सहयोग म गर्छु ।’ विद्यालयको भौतिकसँगै शैक्षिक गुणस्तरसमेत राम्रो हुनुपर्नेमा उनले जोड दिइन् । विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनुपर्ने सांसद नमुनाले बताइन् ।
विद्यालयका प्रअ मोहन चौधरीले ३ लाख २२ हजार २ सय ४९ रूपैयाको लागतमा मन्दिर निर्माण सम्पन्न भएको बताए । ‘सबैबाट सहयोग संकलन नै गरेर मन्दिर स्थापना भएको हो,’ उनले भने, ‘विद्यालय परिसरमै विद्याकी देवी सरस्वती माताको मन्दिर निर्माण भएपछि विद्यार्थीहरूलाई समेत सहज हुन्छ ।’ सो अवसरमा मन्दिरमा स्थापना सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।