बाँके (डुडुवा) : स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिको काम कारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरीक्षण गरेको छ । जिल्ला न्यायाधिस सहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिकाको न्यायिक समितिको निरीक्षण तथा छलफल गरेको हो ।
गाउँपालिका अन्तरगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला र अभिलेखीकरण लगायत विभिन्न प्रक्रियाका बारेमा उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराउनु भएको थियो ।
जिल्ला अदालतका न्यायधिस सनतचन्द्र लाउतले डुडुवाको न्यायिक समितिले न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा र निर्णय प्रक्रिया र व्यहोरा व्यवस्थित रहेको बताए । न्यायधिस लाउतले डुडुवा गाउँपालिका जिल्लाकै नमूनाको रुपमा रहेको भन्दै पालिकाको रणनिति र मिसन उत्कृष्ठ भएकाले सेवाग्राही तथा न्याय सम्पादनमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो क्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाका विभिन्न पक्ष र कार्र्ययोजनाका बारेमा जानकारी गराएका थिए । त्यस क्रममा अदालतको अनुगमन टोलीले विभिन्न न्यायिक समितिका पदाधिकारीलाई अदालती प्रक्रिया र अभिलखीकरणका बारेमा आवश्यक जानकारी गराएको थियो ।
भेटघाटका क्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, न्यायिक समिति सदस्य काशीराम यादव र सकिना बेगम नाउँ, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ, कानूनी सल्लाहकार एवम् अधिवक्ता इश्वरीप्रसाद ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
न्यायिक समितिले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि असार २० गतेसम्म २२ वटा मुद्दा दर्ता भएकोमा एउटामा भएको, ९ वटा मुद्दा अदालत पठाएको र १२ वटा मुद्दा प्रक्रियामै रहेको शाखाका बिवेक तिवारीले जानकारी दिए ।