बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले प्रत्येक चौमासिक रुपमा सार्वजनिक सुनुवाई गरी आमनागरिकलाई आफ्नो प्रगतिको बारेमा जानकारी गराउने व्यवस्था छ ।
सोही ब्यवस्था अनुसार अधिकांश गाउँपलिकाले एउटा पनि सार्वजनिक सुनुवाई नगरेको अवस्थामा राप्ती सोनारीले भने चालु आर्थिक वर्ष २०७९ ८० मा ३ वटा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
गाउँपालिका कार्यालय अगैयामा सम्पन्न भएको सार्वजनिक सुनुवाईका सहभागीले सार्वजनिक सुनुवाईमा भएका प्रतिबद्धता कार्यान्वयन तह ओझेलमा पर्ने गरेको, सहकारी शाखाको भुमिका फरकिलो बनाउँदै लैजान आवश्यक भएको, ऐलानी जग्गामा गरेको खेतीको वन्यजन्तुले विनाश गरेको खेतीबालीको क्षतिपुर्ति प्राप्त नहुने गरेको, सिक्टा सिँचाईको नहरबाट खेत सम्म पुग्ने कुलोको समस्या रहेको, पशु र कृषि शाखालाई व्यवस्थापन गर्न जरुरी रहेको, मेलमिलाप केन्द्र सबै वडामा गठन नभएको, अनुगमन प्रभावकारी नभएको, करारमा कार्य गरेको पूर्वकर्मचारीको तलब भुक्तानीमा समस्या उत्पन्न भएको जस्ता सवलाहरु उठाएका थिए ।
सहभागीले उठाएको सवालको जवाफमा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सिक्टा सिँचाईबाट निमार्ण हुने कुलोको बारेमा सिक्टा सिँचाईसँग समन्वय गर्ने, करारमा नियूक्त पूर्वकर्मचारीको विषयमा कार्यापालिकाबाट निर्णय भई सकेको, वन्यजन्तुबाट क्षति हुने बालीको क्षतिपुर्तिको लागि कानुनबनाई कार्यान्वयन गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले सार्वजनिक सुनुवाईका प्रतिबद्धता क्रमशः कार्यान्वयन गर्दै लैजाने र त्यसको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको, सबै वडामा आगामी वर्षबाट सार्वजनिक सुनुवाई गर्ने योजना तय भएको, टोल विकास संस्थालाई क्षमता अभिवृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम तर्जुमा भएको बताए ।
सार्वजनिक सुनुवाईका क्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडाअध्यक्ष, कार्यापालिका सदस्य, विषयगत शाखा प्रमुख, सर्बसाधारण लगायतको पनि उपस्थिती रहेको थियो । बागेश्वरी असल शासन क्लब (बास नेपाल)ले सार्वजनिक सुनुवाईको सहजिकरण गरेको थियो ।