नेपालगन्ज : नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइरालाको स्वास्थ्यमा क्रमिक रुपले सुधार भइरहेको छ । कोइरालाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त अस्पतालका न्युरोलोजिष्ट डा. बाबुराम पोख्रेल, न्यूरो सर्जन डा. गोपाल रमण शर्माले उपचार गरिरहेका छन् । चिकित्सकका अनुसार निर्वतमान सभापति कोइरालालाई मस्तिष्क घात भएको थियो । औषधी चलाएपछि अहिले मस्तिष्क घातको समस्या समाधान भइसकेको र केही दिनसम्म अस्पतालमै बस्नुपर्ने चिकित्सकले सल्लाह दिएको काँग्रेस बाँकेका जिल्ला सचिव समेत रहेका छोरा सुधान्सु कोइरालाले बताए ।
‘मम्मी अहिले अस्पतालको आईसियु कक्षबाट सिफ्ट भएर क्याबिनमा हुनुहुन्छ, मस्तिष्कघातले ठुलो आकार लिन पाएन, जसले गर्दा अहिले मम्मीको स्वास्थ्य अवस्था खतरामुक्त भएको छ,’ उनले टेलिफोनमा भने । निर्वतमान सभापति कोइराला पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पुर्वसभापति सुशील कोइरालाकी भाई बुहारी हुन् ।
उनका श्रीमान स्वर्गिय डा. अरुण कोइराला पनि काँग्रेस बाँकेका पुर्वसभापति हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० सुर्खेतरोड (औद्योगिक क्षेत्र अगाडी) घरमै रहँदा ७७ वर्षिया निर्वतमान सभापति कोइरालालाई ११ दिनअघि मस्तिष्कघात भएको थियो । त्यसपछि परिवारका सदस्यले भेरी अस्पताल नेपालगन्जको आईसियुमा लगेर भर्ना गरेका थिए ।
त्यहाँबाट रेफर गरेर काठमाडौं लैजाने तयारी भइरहेका बेला बिहीबार बेलुका जहाज छुटेपछि पुनः फर्काएर वेष्टर्न अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरिएको थियो । त्यसपछि शुक्रबार बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा लगेर भर्ना गरिएको थियो ।
अस्पतालमा काँग्रेस नेताद्धारा भेटघाट
नेपाली काँग्रेस बाँकेकी निर्वतमान सभापति कोइरालाको उपचार भइरहेको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा नेता, सांसद र आफन्तहरु पुग्ने गरेका छन् ।
बिरामी अवस्थामा रहेकी कोइरालालाई भेट्न काँग्रेस नेता डा. शेखर कोइराला, नेता प्रकाशमान सिंह, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, निर्वतमान महामन्त्री डा. शशांक कोइराला, नेतृ सुजाता कोइराला, प्रतिनिधि सभाका सांसद एवम् पार्टीका केन्द्रीय सदस्य सञ्जय गौतम पुगेका छन् ।
यस्तै प्रतिनिधि सभाका सांसद एवम् काँग्रेस नेता हृदयराम थानी, प्रतिनिधि सभाकी सांसद एवम् काँग्रेस नेतृ आशा बि.क, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायत आफन्त, इष्टमित्रहरु पनि अस्पतालमा पुगेको छोरा सुधान्सुले सुनाए ।