नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट शनिबार पारित भएको छ । १३ औं नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको उपमहानगरपालिकाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित गरियो । उपमहानगरपालिकाको यही असार ९ गते १३ औं नगर सभा सुरु भएको थियो ।नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र उप-प्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रबद्र्धनलाई प्राथमिकता दिइएको बताए ।
नीति तथा कार्यक्रममा विष्टले विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच बर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने समेटेका छन् ।
उप-प्रमुख राईले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरण सहितको बजेट नगर सभामा प्रस्तुत गरेका थिए । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिएका छन् ।