नेपालगन्ज : आज मुक्ति दिवस, जमिनदारको घरमा कमैया बस्ने कमैयाहरु मुक्त भएको घोषणा गरिएको दिन । २०५७ साल साउन २ गते अर्थात् आजकै दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो ।
सोही दिनलाई मुक्तिको दिनको रुपमा मनाउँदै आइएको यस दिवसको अवसरमा कमैया मुक्ति आन्दोलनका अगुवा समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभकामना व्यक्त गरेका छन् । सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए ।
‘सरकारका विभिन्न प्रयास भएपनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौ जनाको व्यवस्थापन र पुुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा म संवेदनशील समेत भएको छु,’ चौधरीले भनेका छन्, ‘तसर्थ उहाँहरुको पुनस्र्थापन र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागिपर्ने अवस्था आएको छ ।’
कमैया आन्दोलनको प्रभावले तत्कालिन अवस्थामा सहयोग गर्ने पूर्व प्रधानमन्त्री, राजनीतिक शीर्ष नेतृत्व, मन्त्री, आन्दोलन सफल बनाउन अग्रनी भूमिका खेल्ने आमसञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालिन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारी लगायतका संघ, सस्थाहरु प्रतिको सहयोगलाई उनले स्मरणसहित आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
उक्त आन्दोलनको अभिभावकत्व ग्रहणगरी आन्दोलनमा समेत सहभागी भइ सफल बनाउन सहयोग पुर्याउने पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाप्रति मुख्यमन्त्री चौधरीले कृतज्ञता व्यक्त गरेका छन् ।