नेपालगन्ज : नेपाली राजनीतिका शिखर ब्यक्तित्व मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वरप्रसाद कोइराला नेपालको राजनीतिक आकाशको मुर्धन्य व्यक्तित्व हुनुहुन्छ । नेपालको राजनीतिमा स्वर्णिम इतिहास बनाउन सफल नेपाली काँग्रेसको राजनीतिक सिद्धान्तको मूल मन्त्र वि.पी. को समाजवाद हो ।
समाजमा रहेका आर्थिक विषमता हटाई समुन्नती ल्याउनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त नै वि.पी.को समाजवाद हो ।
साझा भनेको सबै नेपालीको प्रत्यक्ष अप्रत्यक्ष समान हक भएको एक साथ मिलेर काम गर्ने साझा सहकारी जस्तो वि.पी.को राजनीतिक सिद्धान्त थियो । कार्लमाक्स, लेलिन र गान्धीको बैचारिक फ्युजन नै विपीको समाजवाद हो ।
लोकतान्त्रिक विचार सहितको निरन्तरको मुभमेट नै प्रजातान्त्रिक आन्दोलन हो भन्ने मान्यतालाई नेपाली राजनीतिमा भित्रयाउने नेता नै विपी हुनुहुन्छ । यस कारण वि.पी. नेपाली राजनीतिका धरोहर बन्न सफल हुनुभयो । उहाँको जन्म वि.सं. १९७१ भाद्र २४ गते भएको थियो ।
उहाँ नेपाली काँग्रेसको आँखाको नानी हुनुहुन्थ्यो । वि.पी.को नेपाल र नेपाली जनताप्रति अगाध स्नेह थियो । अहिले पनि उहाँका सिद्धान्तले देश र जनताप्रति स्नेह उद्घोष गरिरहेका छन् । राम्रो सबैलाई मन पर्छ, नराम्रो कसैले चाहँदैनन् ।
हाम्रो नेपाली राजनीतिका धरोहर महामानव विश्वेश्वरप्रसाद कोइरालालाई घाँटीको क्यान्सर रोगले सताएको थियो । त्यही रोगका कारण उहाँको भौतिक शरीरलाई आत्मारुपी अदृश्य शक्तिले छाडिदियो । त्यो दिन थियो, २०३९ साल श्रावण ६ गते । आज उनै जनताका सच्चा नेता महामानव वि.पी. कोइरालाको ४१ औं स्मृति दिवस नेपाली काँग्रेसले देश÷विदेशमा विविध कार्यक्रमका साथ विगतमा झैं मनाइरहेको छ ।
यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । यो दिनलाई नेपाली काँग्रेसमा आस्था राख्ने कांग्रेसजनहरूले वि.पी. स्मृति दिवसका रूपमा २०४० सालदेखी मनाउँदै आइरहेका छन् । २०३९ श्रावण ६ मा बैकुण्ठ प्रस्थान गर्दा त्यतिबेला वि.पी.प्रति श्रद्धा भक्ति अर्पण गर्दै उहाँको अस्तु त्यतिबेलाका ७५ वटै जिल्लामा पुर्याइएको थियो ।
अहिले उहाँको ४१ औ स्मृति दिवस मनाइरहँदा उहाँप्रतिको स्मरण सँग–सँगै उहाँको विचार र सिधाान्तलाई हरेक काँग्रेसीजनहरूले पुर्नताजगी गर्न आवश्यक सच्चिन जरुरी छ । वि.पी.को भौतिक शरिर नभएतापनि उहाँको किर्तिमानी विचार र उहाँको शिखर नाम नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ । विपी बहुआयामिक ब्यक्तित्वका धनी नेता हुनुहुन्थ्यो । उहाँ नेपालको राजनीतिमा मात्र होइन, साहित्यका क्षेत्रमा पनि अग्रणी साहित्यकारका रूपमा स्थापित हुनु भएको छ ।
वि.पी.को राजनीति र साहित्य क्षेत्र दुबैमा दिलैदेखिको सम्मान, श्रद्धा र अखण्ड विश्वास भएकाले उहाँको राजनीति र साहित्यमा, आस्थाको राजनीति र साहित्य सेवा अविस्मरणीय रहेको छ । मोदी आइन, हिटलर र यहुदी उपन्यास, सुम्निमा, तीन घुम्ती वि.पी. का उत्कृष्ट साहित्यिक कृति हुन् । मोदी आइन उपन्यास भित्र मोदी आइनले बालक पात्रले भनेकी छन् ठूला मानिस थरी-थरीका हुन्छन् । असल मानिस भने एक थरीका हुन्छन् । ठूलो हुनुपट्टी नलाग्नु असल हुनपट्टी लाग्नु भनिएको छ ।
हिटलर र यहुदी उपन्यासमा युद्ध विरोधी अभिव्यक्ति दिएका छन् । जीवन र जगतको यथार्थलाई ‘सुम्निमा’ उपन्यासबाट प्रष्ट पार्नु भएको छ । तीन घुम्ती उपन्यासबाट नारीको उच्च सम्मान गर्नुभएको छ । उहाँ सम्मान लिनका लागि होइन, दिनका लागि हर घडी तयार हुनुहुन्थ्यो । उहाँले देश र जनतालाई उच्च सम्मान गर्नुहुन्थ्यो । वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निर्दलिय पञ्चायती व्यवस्था लागु गरेपछि वि.पी. भारत निर्वासित हुनु भएको थियो ।
१६ वर्षको निर्वासपछि नेपालको राष्ट्रियता संकटमा परिरहेको बेला नेपाललाई बाह्य आक्रमणबाट जोगाउन ‘नेपालका राजासँग आफ्नो घाँटी जोडिएको छ’ भन्दै २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो । राजा ‘सम्बैधानिक राजा हुनुपर्छ, शासक होइन’ भन्ने उहाँको स्पष्ट धारणा थियो । मेलमिलाप मेल र मिलाप दुई शब्द मिलेर बनेको शब्द हो ।
मेल भनेको परस्पर भेट्ने काम, मिलाप, समागम, आपसको सद्भाव, मित्रता, मैत्री भन्ने अर्थ दिन्छ भने मिलाप भनेको मेल, संयोग भेट, मित्रता, आत्मियता मैत्री सम्बन्ध हिमचिम भन्ने अभिव्यक्ति दिन्छ । वि.पी.ले सधैँ मेलमिलापको राजनीति गर्नुभयो ।
वि.पी. राजा र अन्य राजनीतिक दलहरूप्रति कहिल्यै पनि आक्षेपको राजनीति गर्नु भएन भने पार्टी भित्रको आन्तरिक जीवनमा असहमत पक्षलाई समेत पार्टी सञ्चालनमा सँग सँगै लिएर हिड्ने उदारता देखाउन सफल शिखर ब्यक्तित्व हुनुहुन्थ्यो । राजा र देशका अन्य राजनीतिक दललाई उहाँले सम्मान गर्दै नेपाली काँग्रेसको राजनीतिक सिद्धान्तलाई अग्र पंक्तीमा राख्नुभयो ।
लोकतन्त्रमा फर्क समुहलाई विश्वासमा लिएर जान सक्ने उच्च ब्यक्तित्व वि.पी.ले गुटको राजनीति भने गर्नु भएन तर अहिले काँग्रेसभित्र उच्च तहका नेतृत्वका गुट, मध्यम खाले नेताका गुट अनि निम्न तहका नेताहरूको गुटगत स्वार्थले असल, योग्य, क्षमतावान, पार्टीलाई जीवन्त राख्न आफ्नो उर्वरा समय खर्चिएका बैचारिक कार्यकर्तालाई सक्काउने अपवित्र काम भइरहेका छन् ।
लोकतान्त्रिक पार्टीमा क्षमतावान नेतृत्वलाई जिम्मेवारीमा ल्याउन समुह हुनुपर्छ तर असक्षम, अयोग्य, अनुपयुक्त ब्यक्ति जो चाकरीकै भरमा नेतृत्वका नजिक भएर नेतृत्व हत्याउनेहरुको बर्चस्व हुनु बिडम्बना हो । समुहगत र ब्यक्तिगत अन्यायपुर्ण गुटिय स्वार्थले पार्टीको बिचार र संगठन तहस नहस हुने भएकाले गुटबन्दी सिर्जना हुनु वि.पी. को राजनीतिका सिद्धान्त विरुद्धमा छ भन्ने कुरा आम काँग्रेसीजनले बुझ्न अब अत्यन्त जरुरी छ ।
वि.पी.ले पारस्परिक समझदारी र नैतिकताको राजनीति गर्नुभयो । त्यसैले उहाँ अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपालको सुपरिचित नेता हुनुभयो । उहाँले अरू दलका नेता कार्यकर्तालाई कहिल्यै पनि गाली गर्नु भएन । बरु आफ्नो पार्टी नेपाली काँग्रेसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सदैव प्रयासरत हुनुभयो र सफल पनि हुनुभयो ।
उहाँको पालामा अहिले जस्तो पार्टीभित्र गुट हुनु त परै जावस गुटबन्दीको कुनै आभाष नै थिएन । वि.पी.ले आफ्न कमिकमजोरी औल्याउने ब्यक्तिलाई सधै प्रिय ठान्नु भयो । तर अहिलेका नेतृत्वलाई सकारात्मक टिप्पणी गरेर सुझाव दिदा बिरोधीको बिल्ला भिराएर राजनीतिक हत्या गर्न समेत नेतृत्व तह पछि पर्दैन ।
अहिले पार्टी भित्रको गुटबन्दीले नेपाली काँग्रेसको छवि गिर्दाे अवस्थामा छ । असहमत पक्षका सकारात्मक खबरदारीलाई स्वीकार्दै सच्चिने चिन्तन हाबी नहुने हो भने सक्किने निश्चित छ । अब इतिहासको ब्याजले पार्टी चलायमान हुन किमार्थ सक्दैन । वि.पी. को बिचारमा पार्टी नेतृत्वले जति नै गल्ती गरेपनि टुलुटुलु हेरिरहने कार्यकर्ता कि दास हुन्छन् कि निहित स्वार्थमा केन्द्रित हुन्छन् ।
यि दुबै मानशिक्ता भएकाहरुबाट पार्टी सबलिकरण हुन सक्दैन भन्ने वि.पी. चिन्तन हो । महामानव वि.पी. को ब्यक्तित्वका बारेमा लेख्न खोज्नु सुर्यका अगाडी टुक्की बाल्नु समान हो । आज उहाँको स्मृति दिवस भएको हुनाले स्मरणको टुकी बाल्ने प्रयास मात्र गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश सभा समिति, पालिका र एकाइ समेतका नेता कार्यकर्ताले वि.पी.को सिद्धान्त विरुद्ध नेपाली काँग्रेसमा लागेको प्रतिस्पर्धात्मक अस्वच्छ गुटबन्दीको महारोगलाई अन्त्य गर्न महामानव वि.पी. कोइरालाको आत्माले समेत सबैलाई प्रेरणा दिऊन भन्ने कामनाका साथ जनप्रिय नेता वि.पी. कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । जय नेपाल !
(लेखक दूरसञ्चार डटकमका प्रधान सम्पादक हुन् )