काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका बंगलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरुबीच राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा भेटवार्ता भएको हो । यस्तै, उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो ।
उक्त अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बंगलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिती रहेको थियो ।
बंगलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । नेपाल र बंगलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदान प्रदान पनि भइरहेको छ ।
यस्तै, सन् २०४० सम्म ९ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्वपूर्ण जलविद्युत आयोजनामा समेत बंगलादेशले लगानी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरण समेत बनेको छ ।