नेपालगन्ज : अन्र्तराष्ट्रिय स्तरको सिनेमा हल ‘सिने रोयल’ नेपालगन्जमा खुलेको छ । सिनेरोयल खुलेसँगै यसले ब्यवसायिक कारोबार पनि सुरु गरिसकेको छ ।
नेपालगन्जस्थित वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका डा.राहुल थापाले २५ करोड रुपैयाँको लागतमा उक्त सिनेमा हल सञ्चालनमा ल्याएका हुन् । नेपालगन्ज उपमहानगरपालिका-१० सुर्खेत रोडस्थित होटल स्नेह नजिकै उक्त सिनेमा हल सञ्चालनमा आएको हो ।
सिनेरोयलका संरक्षकद्वय डा. वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद थापा र आमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले शुभारम्भ गरेका थिए । सिने रोयलका प्रबन्ध निर्देशक समेत रहेका डा. थापाले अत्याधुनिक प्रविधि, साउण्ड सिस्टम जस्ता सुविधायुक्त रहेकाले दर्शकले फरक अनुभुती गर्ने बताएका छन् ।
सञ्चालकका अनुसार यो नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोरके लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिन सहितको मल्टिप्लेक्स हो । उनका अनुसार ३ वटा हलमा एकैसाथ फरक–फरक सिनेमा हेर्न ५ सय ६० जना दर्शकले एकै पटक हेर्न सक्नेछन् ।
थापा भन्छन्, ‘अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।’ उनका अनुसार संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ ।
सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट-डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ । सञ्चालकका अनुसार नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ ।