नेपालगन्ज : बाँके जिल्लामा प्रतिनिधि सभाका ३६ जना तथा प्रदेश सभाका ५३ गरी कुल ८९ जना उमेदवारले निर्वाचन खर्च विवरण समयमै बुझाएका छन् । विवरण उमेदवारले नै सार्वजनिक गरी सो को जानकारी जिल्ला निर्वाचन कार्यालय बाँकेलाई समयमै गराएका हुन् ।
विवरणहरु कार्यालयबाट अनलाईन प्रबिष्ठी समयमै गरेकोले सतप्रतिशत प्रगति भएको छ । यसले गर्दा बाँके जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभातर्फका कुनै पनि उमेदवारलाई निर्वाचन आयोगबाट जरिवाना भएको छैन ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले उमेदवार र निजका निर्वाचन प्रतिनिधिहरुलाई पटक पटक टेलिफोन सम्पर्क गरेर ताकेता गर्नुका साथै कतिपय उमेदवारलाई आवश्यक सहजीकरण समेत गरेकोले बाँके जिल्ला जरिवाना शुन्य जिल्ला हुन सफल भएको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले बताइन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले निकै मेहेनत गरी प्रभावकारी समन्वय र सहकार्य गरेका कारण जिल्लाका सबै उमेदवारहरु जरिवानाबाट बचेको बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा २ बाट उमेदवार भएका सुरेन्द्रबहादुर हमालले बताए ।
२०७९ मा सम्पन्न स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय बाँकेको नेतृत्व गरी प्रभावकारी समन्वय र सहकार्य गरेर निष्पक्ष रुपमा निर्वाचन सफल गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा जिल्ला निर्वाचन अधिकारी पन्तलाई कर्मचारी मिलन केन्द्र बाँकेले नगद ५ हजार पुरस्कार सहित यसअघि नै सम्मानपत्र प्रदान गरेको थियो ।
गत मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उमेदवार भई निर्वाचन खर्च पेश गरेका उमेदवारलाई आफ्नो निर्वाचन खर्च पत्रपत्रिका, सामाजिक सञ्जाल, स्थानीय तह तथा निर्वाचन कार्यालयको सूचना बोर्डमा सार्वजनिक गर्न सूचना जारी गरेको थियो ।
निर्वाचन आयोगबाट पटक-पटक सूचना जारी गर्दा समेत निर्वाचन खर्च विवरण सार्वजनिक गरेर सो को जानकारी निर्वाचन कार्यालयमा पेश नगर्ने देशभरका प्रतिनिधि सभाका १ हजार ३४ जना तथा प्रदेश सभाका १ हजार ३ सय ९८ जना उमेदवारलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना तिरेर पुनःनिर्वाचन खर्च सार्वजनिक गर्न जानकारी गराएको छ ।