नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न पुगेका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुर्ब्यवहारको घटनामा संलग्न प्रहरीले माफी मागेका छन् ।
वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको समुहले घेरा हालेर दुर्ब्यवहार गर्नुका साथै आक्रमणको प्रयास गरेको थियो । सोही क्रममा सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक(असई) एस.के. चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टोली र प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसूदन न्यौपानेबीच भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन् । ‘छलफलका क्रममा असई चौधरीले गल्ती भयो, माफी पाउँ भनेर भन्नु भयो, उहाँलाई माफी दियौं ’ महासंघ अध्यक्ष भण्डारीले भने ।
वडाअध्यक्ष गुप्ता अहिलेसम्म सम्पर्कमा छैनन् । पत्रकारमाथि आक्रमण गर्ने भनि वडाअध्यक्ष गुप्ता सुनियोजित रुपमै योजना बनाएर बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा सोमबार भएको छलफलका क्रममा प्रहरीले यस्तो रहस्य खोलेको हो ।
आक्रमण गर्न वडाअध्यक्ष गुप्ताको सुनियोजित योजना
पत्रकारमाथी आक्रमण गर्न वडाअध्यक्ष गुप्ता आइतबार सुनियोजित रुपमा योजना बनाएरै बसेको आफूहरुले थाहा पाएको त्यहाँ ड्यिुटी गर्न पुगेका प्रहरी कमाण्डरले बताएका हुन् । ‘वडाअध्यक्षले महिलाहरुलाई अगाडी सारेर पत्रकारमाथि आक्रमण गर्ने हो भनि योजना बनाएर बसेका रहेछन, धेरै संख्यामा प्रहरी खटिएकाले उसको योजना सफल हुन पाएन,’ ड्युटीमा खटिएका प्रहरीले भने । वडाअध्यक्ष गुप्ताले गल्ती स्वीकार नगरे उनी विरुद्ध महासंघ बाँकेले थप कदम अगाडी बढाउने जनाएको छ ।
घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै शनिबार नै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायत पत्रकारका संघ, संगठनले दोषीलाई कारबाही गर्न माग गरेका थिए । अवधि पत्रकार संघ नेपाल केन्द्रिय समितिले पनि आइतबार एक विज्ञप्ती जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
यो पनि पढ्नुस् :
पत्रकार घिमिरे र शाहमाथी दुर्ब्यवहार तथा आक्रमण प्रयास