नेपालगन्ज : नेपालगन्जमा महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । कतार च्यारिटीको सहयोग तथा बाँके युनेस्को क्लबको आयोजनामा शुक्रबारदेखी उक्त तालिम शुरु गरिएको हो ।
प्रदेश सभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा शुक्रबार तालिमको उदघाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै प्रदेश सभा सदस्य केसीले तालिम उपलब्धीमुलक रहोस् भन्ने शुभकामना दिइन् । उनले यो तालिमले सहभागी महिलालाई जिविकोपार्जन गर्न सहज हुने विश्वास ब्यक्त गरिन् ।
यो तालिम सहभागीहरुको बाँच्ने आधार समेत हुन सक्ने भन्दै प्रदेश सभा सदस्य केसीले यसको सदुपयोग गर्न सहभागी महिलालाई आग्रह गरिन् । त्यस्तै स्थानीय स्तरमा समुदायका लागि बिभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्को क्लबको प्रशंसा पनि गरिन् ।
तीन महिनासम्म सञ्चालन हुने तालिममा अति विपन्न, असहाय र एकल गरेर २३ जना महिलाको सहभागिता रहेको युनेस्को बाँकेका अध्यक्ष तुलाधरले जानकारी दिए । प्रशिक्षार्थीलाई आमना हल्वाईले प्रशिक्षण दिने युनेस्कोले जनाएको छ ।
युनेस्कोका प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकीले आगामी दिनमा पनि क्लबले समुदायका लागि विभिन्न परियोजनाहरु सञ्चालन गर्ने आश्वासन दिए । यसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनले अनुरोध गरे ।
एकीकृत विकास कार्यक्रम (जीविकोपार्जन सहयोग परियोजना) अन्तरगत तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक विनिता आर.सी.ले बताइन् । क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले स्वागत गरेको उक्त कार्यक्रममा बागेश्वरी बहुद्देशीय कृषि बजार सहकारीकी अध्यक्ष कमला न्यौपाने, खजुरा गाउँपालिका खेलकुद समितिका सचिव छवि बिष्ट, क्लबका सल्लाहकार सिराज खान, नरेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।