बुटवल : नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सामाजिक संघ, संस्थाको पहलले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै जाने धारणा व्यक्त गरेका छन् ।
बुटवल लेडी जेसिजले आयोजना गरेको जेसिज सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पुनले लामो समयदेखि इतिहास बोकेको लेडि जेसिजको पहलले देशको संबिधानलाई मद्दत पुग्ने गरी महिलाको सहभागिता पुग्नमा सहयोग पुग्ने बताए ।
लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो र प्रभावकारी बनाउन महिला सशक्तीकरण गर्न आवश्यक रहेकोमा उनले जोड दिए । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा जस्ता सरकारका विभिन्न तहमा महिलाको सहभागिता अनिवार्य भएकोले महिलाहरूमा नेतृत्व विकास गर्न विभिन्न गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे ।
महिलाको समान सहभागिताले मात्र समतामूलक समाज निर्माणमा जोड पुग्ने उनको भनाई थियो । सरसफाई, युवाको नेतृत्व विकास र राष्ट्र निर्माणका विभिन्न सामाजिक चरणमा जेसिजको भूमिका प्रसंशायोग्य रहेको सभापति पुनको जोड थियो ।
कसैको दबाबमा नरही सामाजिक कार्य गर्दै आएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सभापति पुनले आग्रह गरेका छन् । समाज सुधार गर्ने एव सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेकोमा उनले बधाई समेत दिएका छन् ।
सो क्रममा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले जेसिजले समाज परिवर्तनका क्षेत्रमा काम गर्दै आएको बताउँदै बुटवल लेडि जेसिजले सप्ताह मार्फत राम्रो काम गरेको बताए । जेसिजमा युवाहरूले नेतृत्व गर्दै नयाँ र सामाजिक कामहरू गर्दै जाने उनको भनाई छ ।
उक्त कार्यक्रममा बोल्दै बुटवल लेडि जेसिजका पूर्वअध्यक्ष बालकुमारी भण्डारीले बुटवल जेसिजले भवन बनाउँदा र सुरुवाती चरणमा गरेका कामहरूको बारेमा जानकारी दिएकी थिइन् ।