नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी भएको निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदमा समावेशी समुहका टंकबहादुर धामीले सुरुवाती अग्रता लिएका छन् ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवार ललितकुमार रौनियारलाई पछाडी पार्दै उनले सुरुवाती अग्रता लिएका हुन् । प्राप्त जानकारी अनुसार ३ सय २५ मत गणना हुँदा धामीले १ सय ८४ र रौनियारले १ सय ३१ मत प्राप्त गरेका छन् ।
संघको कुल मतदाता संख्या ४ हजार ९ सय ३६ रहेकोमा शनिबार सम्पन्न मतदानमा ४ हजार १ सय ३२ मत खसेको थियो । आगामी कार्यकालका लागि संघको नेतृत्व गर्न साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका रौनियार र समावेशी समुहका धामीबीच कडा प्रतिस्पर्धा छ ।
मत परिणाम सुन्न उद्योगी, व्यवसायी लगायत आम बाँकेबासी ब्यग्र प्रतिक्षामा बसेका छन् । रौनियार संघको कार्यसमितिमा २०६२/०६३ मा प्रवेश गरेका हुन् । विगतमा तीन कार्यकाल उद्योग वाणिज्य संघमा बसेर काम गरेको उनीसँग लामो अनुभव छ ।
नेपालगन्जमा हालै खुलेको ईश्वा इलेक्ट्रो बाइक कम्पनीको कन्ट्री डिलर ललिता ईजी मार्ट सप्लायर्सका उनी सञ्चालक हुन् । यस्तै अर्का उम्मेदवार धामी नेपालगन्ज उद्योग वाणिज्य संघको यसअघि प्रवक्ताको जिम्मेवारीमा थिए । संघमा दुई कार्र्यकाल सदस्य भएर काम गरेको उनीसँग अनुभव छ ।
२०६० सालदेखि नेपालगन्जमा रेडिमेड व्यवसाय सञ्चालन गरेका धामी कमल इन्टरप्राइजेज, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स, मनिष टे«ड लिंक, कमल गार्मेन्ट प्रा.लि., रामारोशन तयारी पोशाक व्यवसाय सञ्चालन गरिरहेका छन् ।