बाँके(राप्ती सोनारी) : झ्याप्प-झ्याप्प बिद्युत जाने समस्या केहीदिनदेखी निरन्तर भइरहँदा राप्तीपारीका स्थानीय बासिन्दाले हैरानी ब्यहोरेका छन् ।
राप्तीपारी बिद्युत वितरणका लागि नेपाल बिद्युत प्राधिकरणले बैजापुरको धामपुरमा सव-स्टेशन निर्माण गरी कोहलपुरदेखी ३३ केभी प्रशारण लाईन बिस्तार गरेको थियो । लामो समयदेखी अलपत्र परेको बिद्युतीकरण योजना दुई वर्षअघि सम्पन्न भएपछि उपभोक्ताले बिद्युत सेवा उपयोग गर्न पाएका थिए ।
केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा बिद्युत सेवा अनियमित हुँदा हैरानी ब्यहोर्नु परेको सर्बसाधारण नागरिकले गुनासो गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका स्थानीय युवराज केसीले केहीदिन देखी झ्याप्प-झ्याप्प बिद्युत आउने-जाने समस्याले आफुहरु हैरान भएको गुनासो गरे । ‘जतिबेला पनि बिद्युत आउने-जाने समस्या भइरहेको छ, बिद्युत प्राधिकरणको धामपुर सव-स्टेशनमा फोन गर्दा कर्मचारीको फोन उठ्दैन,’ बुधबार बिहान टेलिफोनमा उनले भने ‘बिद्युत आउने-जाने समस्याले गाउँमा कसैका टिभी बिग्रिसके, कसैका मोटर जलिसके ।’
उक्त क्षेत्रमा वितरण गरिएको लाईनलाई नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले नियन्त्रण गर्दै आएको छ । नेपालगन्ज वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले राप्तीपारी बिद्युतमा आएको समस्याका विषयमा अहिलेसम्म जानकारी नभएको बताए ।
‘हामीलाई अहिलेसम्म त्यहाँबाट कसैले जानकारी गराएको छैन, हाम्रो त्यहाँ नोलाईट शाखा पनि छ, समस्या भएमा जनताले त्यहाँ पनि जानकारी गराउनुपर्ने हो,’ उनले भने ।