नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भेरी अस्पतालबाट गरिब, विपन्नले सहज रुपमा सेवा पाउनुपर्ने बताएका छन् । भेरी अस्पताल परिवर्तनमुखी भएपनि यसबाट प्रदान गरिने सेवामा अझै सुधार ल्याउनुपर्ने उनको धारणा छ ।
जुम्ला जाने क्रममा नेपालगन्ज आईपुगेका मन्त्री बस्नेतले बिहीबार बिहान भेरी अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भेरी अस्पतालका अरु सेवा बढाउनुपर्छ, यो भेगका गरिबहरुको छायाँ हो यो अस्पताल, यस कारणले मलाई यो कुरा थाहा छ, यसको स्तरोन्नतिका लागि आफ्नो क्षेत्रबाट सबै खाले प्रयास गर्न तयार छु ।’
बीर अस्पतालको जस्तै भेरी अस्पतालमा पनि बिहान ८ बजेबाट ओपिडी सेवा सञ्चालन गर्न उनले निर्देशन दिए । ‘तपाईहरुले पनि सेवा सुबिधा सुरु गर्नुस्, म फेरी चाँडै आउँछु, तीन/चार घण्टा समय दिएर कोठा–कोठामा गएर हेर्छु,’ मन्त्री बस्नेतले भने ‘जनरल बेड यति वटा निःशुल्क छ भनेर भन्नुस्, त्यो जनरल बेड निःशुल्क गरे वापत तपाईले कति आर्थिक दायित्व बेहोर्नुपर्ने हो सक्नुहुन्छ भने तपाईहरु गर्नुस्, सक्नु हुन्न भने मलाई भन्नुस, पैसा म पठाईदिन्छु ।’ गरिबहरुलाई बेड निःशुल्क छ भनेर जानकारी दिनुपर्ने उनको भनाई छ ।
भिडियो हेर्नुस् :
भेरी अस्पतालमा बिरामीको भिडभाड हुने गरेको जानकारी आफुले पाएको बताउँदै यसलाई सही ब्यवस्थापन गर्न नजानेका कारण भिडभाड बढेको बताए । उनले थपे, ‘हाम्रो स्रोत साधन र भौतिक संरचना नभएको कारण मात्रै होईन, हाम्रो पनि केही कमजोरी छ ।’
गरिब, विपन्न, निमुखाहरु कतिपय बिरामीले उपचार गर्ने पैसा नपाएर अस्पतालको बरण्डाबाट आत्महत्या गरेको, कतिपय घरमा गएर मरेको स्मरण गर्दै मन्त्री बस्नेतले भने, ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै मेरो प्राथमिकता रह्यो, जहाँबाट ल्याएर भएपनि पैसा नभएका कारण गरिब र विपन्नलाई उपचार गर्न नपाएर मर्न दिन्न भनेर म लागिपरेको छु ।’
बिरामीका कारण अहिले अहिले स्वास्थ्य मन्त्रालय अस्पताल जस्तो भएको उनले बताए । दैनिक १५÷२० जना बिरामी मन्त्रालयमा आउने गरेको मन्त्री बस्नेतले सुनाए । पछिल्लो समयमा गाउँका अस्पतालले डाक्टरको मुख देख्न पाएको बताउँदै कतिपय कर्मचारीहरु १५/१६ वर्षदेखी एउटै कार्यालयमा काजमा बसेको, दादागिरी देखाउँदै धम्क्याउँदै पावर र पहुँचको आधारमा कार्यालय रोज्ने प्रवृत्ती रहेको सुनाए । त्यस्तो प्रवृत्तीलाई अन्त्य गर्न आफु लागिरहेको मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेत सहितको टोलीलाई भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले स्वागत गरेका थिए । सो क्रममा प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले अस्पतालको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसदहरु, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । मन्त्री बस्नेत सहितको टोली बिहीबार जुम्ला प्रस्थान गरेको छ । जुम्लाको कार्यक्रम सकेर सुर्खेत आउने र त्यसपछि काठमाडौं फर्किने तालिका रहेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए ।