नेपालगन्ज : वरिष्ठ बालरोग विशेषज्ञ स्वर्गिय डा. दुर्गा प्रधान, जसले पश्चिम नेपालका लाखौं बालबालिकालाई बचाए, आफैले मृत्युसँग हारेर सधैंका लागि यो संसारबाट अस्ताएका छन् । उनको वेष्टर्न अस्पताल नेपालगन्जमा शुक्रबार दिउँसो निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि डा.प्रधानलाई यही भदौं ४ गतेदेखि वेष्टर्न अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । मधुमेहबाट ग्रसित प्रधानलाई पछिल्लो समयमा फोक्सोको टिबी, कलेजो र मृगौलामा पनि समस्या उत्पन्न भएको उपचारमा संग्लग्न फिजिसियन डा. खगेन्द्रजंग शाह बताउँछन् । श्वास प्रश्वासमा समस्या भएपछि डा. प्रधानलाई आईसियुमा राखेर उपचार गरिएको थियो ।
२००२ सालमा बुवा काशीप्रसाद र आमा तुलसीको कोखबाट सल्यान, खलंगामा जन्मिएका प्रधानको श्रीमती सहित तीन छोरा छन् । परिवारका अनुसार २०३८ सालमा भेरी अस्पताल नेपालगन्जमा मेडिकल अधिकृतका रुपमा जागिर सुरु गरेपछि २४ वर्षसम्म निरन्तर सेवा गरे ।
उक्त अस्पतालमा कार्यरत रहँदा उनले मेडिकल सुपरिटेन्डेण्टको जिम्मेवारी समेत निभाएका थिए । सेवा निवृत्त भएपछि डा. प्रधानले गणेशमान चोक नजिकै सुर्खेतरोडमा त्रिपुरा बाल अस्पताल स्थापना गरे । उक्त अस्पताल बालबालिकाको उपचारका लागि प्रख्यात मानिन्छ ।
डा. प्रधानले आफ्नो जीवनभर साबिक पश्चिम क्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर जीवन बचाएको उनका सहकर्मी चिकित्सक बताउँछन् । उनको निधनले नेपालगन्ज शोकमा डुबेको छ । चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज, नेपालगन्जका अगुवा लगायत सबैले डा. प्रधानप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।