बाँके (कुसुम) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमले एक असल समाजसेवी गुमाएको छ । कुसुम निवासी नरसिंहबहादुर खड्काको उपचारका क्रममा शनिबार बिहान ५ बजे निधन भएको हो । फोक्सोमा क्यान्सर भएपछि उनले केही समयदेखी उपचार गराउँदै आएका थिए ।
काठमाडौंको बीर अस्पतालमा उपचारकै क्रममा ७३ वर्षीय खड्काको निधन भएको आफन्तले जानकारी दिए । अग्रज समाजसेवी खड्काको निधनप्रति दुःख ब्यक्त गर्दै आफन्त तथा शुभचिन्तकले श्रद्धाञ्जली ब्यक्त गरेका छन् । स्वर्गिय खड्काको श्रीमति र दुई छोरा छन् ।
काठमाडौंको पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार उनको अहिले अन्त्येष्टी गरिदैछ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीले अहिले पशुपति आर्यघाटमा अन्त्येष्टी हुन लागेको जानकारी दिए । ‘स्वर्गिय नरसिंह खड्काको पशुपति आर्यघाटमा अन्त्येष्टी हुँदैछ, म पनि पशुपति आर्यघाटमै छु,’ क्षेत्रीय सभापति केसीले टेलिफोनमा भने ।
खड्काले पञ्चायतकालदेखी राजनीति र समाजसेवामा समय बिताएका थिए । उनी साबिक खास कुश्मा गाबिसका पुर्वप्रधानपञ्च हुन् । यस्तै नेपाल रेडक्रस सोसाइटी कुसुम उपशाखाको पुर्वउपसभापतिको जिम्मेवारी समेत उनले निभाएका थिए ।
नेपाली काँग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ (साबिक खास कुश्मा गाबिस) का पुर्वसभापति समेत रहेका खड्काले काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । पार्टी नेता, कार्यकर्तालाई मिलाएर लैजाने उनको क्षमता थियो । कहिल्यै पनि उनले आफ्ना नेता, कार्यकर्ताबाट आरोपहरु खेप्नु परेन ।
राप्ती सोनारी-१ कुसुममा काँग्रेस नेता, कार्यकर्ताहरुले यिनै खड्कालाई अभिभावकको रुपमा मान-सम्मान गर्ने गरेका थिए । खड्काको निधनपछि सिंगो कुसुमले असल समाजसेवी गुमाएको छ, भने यहाँका काँग्रेस नेता, कार्यकर्ताले आफ्ना अभिभावक गुमाएको महसुस गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी काँग्रेसका निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्रीले स्वर्गिय खड्काको निधनबाट असल समाजसेवी र राजनीतिज्ञ गुमाएको महसुस गरेका छन् । ‘कुसुममा उहाँ(नरसिंह खड्का)को योगदान अविष्मरणीय छ,’ खत्रीले भने ‘उहाँकै अगुवाईमा कुसुममा सामाजिक काम भएका छन् ।’ शिक्षा क्षेत्रमा स्वर्गिय खड्काको योगदान अविस्मरणीय रहेको उनी बताउँछन् ।
काँग्रेस बाँकेका पुर्वजिल्ला सचिव एवम् पुर्वक्षेत्रीय सभापति कृष्णप्रसाद पौडेल स्वर्गिय खड्का एक इमान्दार समाजसेवी र राजनीतिक ब्यक्तित्व भएको स्मरण गर्छन् । ‘केही गरौं भन्ने भावना भएको ब्यक्ती हुनुहुन्थ्यो उहाँ, कुनैपनि भैपरी आउने समस्या र काममा सधैं अगाडी सर्नुहुन्थ्यो, जनताको सेवा गर्नुपर्छ भन्ने भावना उहाँमा थियो, उहाँ स्पष्ट बक्ता हुनुहुन्थ्यो,’ कुसुम निवासी पौडेलले भने ।