नेपालगन्ज : नेपालगन्जको बीरेन्द्र चोकमा स्वर्गिय राजा बीरेन्द्रको पूर्णकदको शालिक पुर्नस्थापना गर्न पहल थालिएको छ । बाँकेमा गठित स्वर्गिय राजा बीरेन्द्रको शालिक पुर्नस्थापना समितिले यसको अगुवाई गरेको हो ।
नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन गर्दै समितिका संयोजक एवम अभियन्ता तेजबिक्रम शाहले शालिक नहुँदा बीरेन्द्र चोक कुरुप देखिएको र बाहिर नराम्रो सन्देश गइरहेको बताए । समितिले सबै प्रक्रिया पुरा गरेर शालिक पुर्नस्थापना गर्ने उनले सुनाए ।
‘हामीले धेरै प्रक्रिया पुरा गर्नुछ, ति प्रक्रिया पुरा गरेपछि अन्तिममा नगरपालिकाले राजनीतिक दललाई उपस्थित गराएर एउटा निर्णय गराउनु हुनेछ,’ शाहले भने ‘निर्णय भएपछि हामीले छिटो भन्दा छिटो शालिक पुर्नस्थापना गर्नेछौं ।’
भिडियो हेर्नुस् :
राजनीति दलबाट समयमा निर्णय हुन नसके समितिले दवावका लागि दिर्घकालिन संरचना बनाउने बताए । उनका अनुसार नेपालगन्ज उपमहानगरका २३ वटै वडामा १ सय ५१ सदस्यीय दवाव समुह गठन गरिने चेतावनी दिए । ‘हामीले हिंसा गर्ने, अशान्ति मच्चाउने होइन, शान्तिपूर्ण रुपले दवाव दिनेछौं र स्वर्गिय राजा बीरेन्द्रको शालिक पुर्नस्थापना गर्नेछौं,’ शाहले थपे ।
स्वर्गिय राजा बीरेन्द्रको शालिक एउटा इतिहास भएको बताउँदै उनले इतिहास मेटाउने अधिकार कसैलाई नभएको बताए । ‘पहिला जस्तो थियो, त्यस्तै खालको शालिक पुर्नस्थापना गरिनेछ, यसमा प्रशासन, सुरक्षा निकाय सबैको सहयोग हुन जरुरी छ,’ उनले भने ‘जनताको भावना बुझेर शालिक पुर्नस्थापना समिति गठन भएको हो ।’ शालिक पुर्नस्थापनाका विषयमा राजनीतिक दलसँग छलफल गरिसकेको समितिले जनाएको छ ।