काठमाडौं : राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम निवासी काँग्रेसका अगुवा नेता एवम् समाजसेवी स्वर्गिय नरसिंहबहादुर खड्काको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । फोक्सोमा क्यान्सर भएपछि केही समयदेखी उपचार गराउँदै आएका ७३ वर्षीय खड्काको काठमाडौंस्थित बीर अस्पतालमा शनिबार बिहान ५ बजेतिर निधन भएको थियो ।
पशुपति आर्यघाटमा स्वर्गिय खड्काको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दीपक गिरीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरे । सो क्रममा काँग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसी, काँग्रेसका अन्य नेता, कार्यकर्ता, परिवारका सदस्य, आफन्तजन लगायतको उपस्थिती रहेको थियो ।
अग्रज समाजसेवी खड्काको निधनप्रति दुःख ब्यक्त गर्दै आफन्त तथा शुभचिन्तकले श्रद्धाञ्जली ब्यक्त गरेका छन् । स्वर्गिय खड्काको श्रीमति र दुई छोरा छन् । उनका दुबै छोरा काठमाडौंमा ब्यवसाय गर्छन् ।
को हुन् नरसिंह बहादुर खड्का ?
खड्काले पञ्चायतकालदेखी राजनीति र समाजसेवामा समय बिताएका थिए । उनी साबिक खास कुश्मा गाबिसका पुर्वप्रधानपञ्च हुन् । यस्तै नेपाल रेडक्रस सोसाइटी कुसुम उपशाखाको पुर्वउपसभापतिको जिम्मेवारी समेत उनले निभाएका थिए ।
नेपाली काँग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ (साबिक खास कुश्मा गाबिस) का पुर्वसभापति समेत रहेका खड्काले काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । पार्टी नेता, कार्यकर्तालाई मिलाएर लैजाने उनको क्षमता थियो । कहिल्यै पनि उनले आफ्ना नेता, कार्यकर्ताबाट आरोपहरु खेप्नु परेन ।
राप्ती सोनारी-१ कुसुममा काँग्रेस नेता, कार्यकर्ताहरुले यिनै खड्कालाई अभिभावकको रुपमा मान–सम्मान गर्ने गरेका थिए । खड्काको निधनपछि सिंगो कुसुमले असल समाजसेवी गुमाएको छ, भने यहाँका काँग्रेस नेता, कार्यकर्ताले आफ्ना अभिभावक गुमाएको महसुस गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ निवासी काँग्रेसका निर्वतमान क्षेत्रीय सभापति माधवराम खत्रीले स्वर्गिय खड्काको निधनबाट असल समाजसेवी र राजनीतिज्ञ गुमाएको महसुस गरेका छन् । ‘कुसुममा उहाँ (नरसिंह खड्का) को योगदान अविष्मरणीय छ,’ खत्रीले भने ‘उहाँकै अगुवाईमा कुसुममा सामाजिक काम भएका छन् ।’ शिक्षा क्षेत्रमा स्वर्गिय खड्काको योगदान अविस्मरणीय रहेको उनी बताउँछन् ।
काँग्रेस बाँकेका पुर्वजिल्ला सचिव एवम् पुर्वक्षेत्रीय सभापति कृष्णप्रसाद पौडेल स्वर्गिय खड्का एक इमान्दार समाजसेवी र राजनीतिक ब्यक्तित्व भएको स्मरण गर्छन् । ‘केही गरौं भन्ने भावना भएको ब्यक्ती हुनुहुन्थ्यो उहाँ, कुनैपनि भैपरी आउने समस्या र काममा सधैं अगाडी सर्नुहुन्थ्यो, जनताको सेवा गर्नुपर्छ भन्ने भावना उहाँमा थियो, उहाँ स्पष्ट बक्ता हुनुहुन्थ्यो,’ पौडेलले भने ।
यो पनि पढ्नुस् :
कुसुमले गुमायो असल समाजसेवी