काठमाडौं : पहिलो पटक एसिया कप खेलिरहेको नेपाल समूहको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पेल्लेकेले रंगशालामा भएको खेल वर्षाले प्रभावित भएपछि दोस्रो इनिङ २३ ओभरमा झारिएको थियो ।
डिएल मेथर्डमा पाएको १४५ रनको लक्ष्य भारतले विनाक्षति २०.१ ओभरमा भेट्यो । भारतलाई सहज जित दिलाउन क्रममा दुवै ओपनरले अर्धशतक बनाए । कप्तान रोहित शर्माले ५९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै, शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए ।
नेपालको बलिङ खासै राम्रो नभए पनि ब्याटिङमा भने निकै राम्रो प्रदर्शन गर्यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल लागि आसिफ सेख र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले भारतलाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५८ रनको इनिङ खेले । उनले ९७ बलमा ८ चौका प्रहार गरे। आसिफले कुशल भुर्तेलसँग मिलेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । यी दुईले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।
आक्रामक ब्याटिङ गरेका कुशलले २५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३८ रन बनाए । यस्तै, आठौं नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामी अर्धशतक बनाउन २ रन मात्र चुके । मोहम्मद सामीको बलमा विकेटकिपर इशन किशनबाट क्याच आउट हुनुअघि उनले ५६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४८ रन बनाए ।
यस्तै, दीपेन्द्रसिं ऐरीले २५ बलमा ३ चौका प्रहार गर्दै २९ रन बनाए। दीपेन्द्र र सोमपालले सातौं विकेटका लागि ५० रनको उत्कृष्ट साझेदारी गरे । गुल्सन झाले ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २ विकेट लिए ।
सिराजले ९.२ ओभरमा ६१ रन खर्चिए भने जडेजाले १० ओभरमा ४० रन खर्चिए । यस्तै, मोहम्मद सामी, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले पनि समान १ विकेट लिए । नेपाललाई हराउँदै भारत समूह एबाट उपविजेताका रुपमा सुपर फोरमा पुगेको छ । समूहबाट पाकिस्तान विजेता बन्दै सुपर फोरमा पुगेको छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।