नेपालगन्ज : नेपालगन्जमा बसोबाास गर्ने थारु समुदायले सामूहिक रुपमा कृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । थारु बिद्यार्थी परिवारको सक्रियतामा मंगलबार बेलुका नेपालगन्जमा भिन्सर्या (दर खाने) कार्यक्रम गरेका थारु समुदयले बुधबार कृष्ण जन्माष्टमी पर्व (कान्हा) कृष्ण भगवानको पूजा गरेर मनाउन लागेका हुन् ।
दाङ, सुर्खेत, बर्दिया, कलैलाली, कञ्चनपुर लगायत जिल्लाबाट पढाई तथा विभिन्न क्षेत्रमा रोजगारीको शिलशिलामा एवं स्थायी रुपमा नेपालगन्जमा बसोबार गर्दै आएका थारु समुदायलाई समेटेर कृष्ण जन्माष्टमी पर्व मनाउन लागिएको थारु विद्यार्थी परिवारका पूर्व अध्यक्ष अविनास चौधरीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका १० स्थित बैष्णो देवी मन्दिर नजिकै एक घरमा कृष्ण जन्माष्टमीमा आधारित चित्र बनाएर थारु महिला दिदी बहिनीहरुका लागि सामूहिक रुपमा पूजा गर्ने ब्यवस्था मिलाईएको थारु युवा जगत चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार नेपालगन्जमा बसोबास गर्ने थारु महिलाहरु बुधबार निराहार ब्रत बसी बेलुका ६ बजेतिर पूजा स्थलमा पूजा गर्नको लागि (अस्टिम्की टीक्न) जम्मा हुने र कृष्ण भजन सम्बन्धित थारु लयमा अष्टिमकिह्या गीत गाउने कार्यक्रम रहेको छ ।
थारु विद्यार्थी परिवारका अध्यक्ष मुकेश चौधरीको आर्थिक संयोजन तथा राम कुमारी थारु, विष्णु चौधरी, सुमित्रा चौधरी, आरती चौधरी लगायतको सहयोगमा मंगलबार बेलुका नेपालगन्जमा करिब ५० जना थारु महिलालाई दर खुवाइएको थियो ।