काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणाले आफूहरु सरकारमा जाने कुरा हल्लामात्रै रहेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘हामी सरकारमा जाने हल्ला मात्रै हो, यो आरोप लागेको छ, यसमा कुनै सत्यता छैन्, हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो ।’
अहिले सरकारमा जाने बारेमा छलफल नगरेको उनको जिकिर छ । राप्रपा सरकारमा जाने मनस्थितिमा पनि नरहेको राणाले बताए । अर्को प्रसंगमा उनले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाए ।
‘चिनियाँ राजदूतले भारतसँगको हाम्रो अर्थतन्त्रको विषयलाई लिएर बोल्नुभएका कुराको म केही व्याख्या गर्न चाहन्छु, कुटनीतिक मान, मर्यादामा र यसको बुझाईमा एउटा राजदूतले अर्को देशको विषयमा नकारात्मक टिप्पणी गर्नुहुँदैन्, झन् हामी त दुई वटा विशाल महान आर्थिक रूपले अथवा सबै प्रकारले विशाल देशका बीचमा छौं,’ राणाले भने, ‘नेपाल बडो संवेदनशील परिस्थितिमा कुटनीतिक हिसाबमा रहन्छ, हामीले पञ्चशीलको भावना लिएर हरेक कुरा गर्नुपर्छ, दुवै देशको बीचमा बराबर, सुमधुर सम्बन्ध र सहयोगको भावना, मान, मर्यादा आपसी कायम राख्नुपर्छ, यो हाम्रो आवश्यकत्ता र जरुरत हो ।’
चिनियाँ राजदूतलाई कुटनीतिक मान र मर्यादामा रहेरमात्र कुरा गर्न उनको चेतावनी छ । डा. राणाले भने,‘ म यही क्लबबाट म चिनियाँ राजदूतलगायत सबैलाई आह्वान गर्न चाहन्छु-कुटनीतिक मान, मर्यादामा रहेरमात्रै कुरा गर्नुहोस्, हाम्रो सम्बन्ध हामी कुनै देशसँग बिगार्न चाहँदैनौं, नेपाल सरकारलाई पनि के आग्रह गर्न चाहन्छु भने कहीँ कतै त्यस्तो देखियो भने तुरुन्तै हामीले अब्जेक्शन र नोट पठाईहाल्नुपर्छ ।’