कोहलपुर : स्वर्गिय डा. हरिहरदेव पन्तको आठौ स्मृती दिवसको अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुर बाँकेले निःशुल्क आँखा तथा स्वास्थ्य परिक्षण गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९ झण्डहवामा एक दिने बृहत निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगीले उद्घाटन गरेका थिए । स्वास्थ्य परीक्षण कार्यक्रम नेपाल नेत्र ज्योति संघ, फत्तेवाल आँखा अस्पताल नेपालगन्जको प्राविधिक सहयोग र साईन रेसुंङ्गा विकास बैंकको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।
सो क्रममा सहभागीको आँखा परीक्षण फत्तेवाल आँखा अस्पतालका चिकित्सकले गरेका थिए भने डा. देवेन्द्र आचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त कार्यक्रममा कुल १ सय २१ जनाले स्वास्थ्य परीक्षण गराएको बताइएको छ । जसमध्ये १६ जनाको आँखामा मोतिविन्दु लगायतका संक्रमण पाईएकोले अप्रेसन गर्न सिफारिस भएको छ ।
बिरामीलाई फत्तेवाल आँखा अस्पतालले ५० प्रतिशत छुट सहितको सहुलियतमा अप्रेशन सेवा प्रदान गर्ने भएको छ । कार्यक्रमको सुरुवातमा संस्थापक स्वर्गिय पन्तको स्मरणमा मौन धारण गर्नुका साथै फोटोमा माल्यापर्ण तथा पुस्पगुच्छा अर्पण गरिएको थियो ।
संस्थापक स्वर्गिय डा.पन्तले ३० वर्ष पहिले समुदायका दलित, जनजाती, बेरोजगार, भुमिहिन सुकुम्बासी विपन्न वर्गका महिलालाई सहज र सरलताका साथ विपन्नको घर दैलोमा वित्तीय सेवा पुर्याएर समाजमा ब्याप्त गरिबी कम गर्न स्वरोजगारी र रोजगारीको अवसरको बृद्धि सँंगै महिला सशक्तीकरण गर्ने उदेश्य राखेर सेवा प्रदान गर्न सुरु गरेका थिए ।
डा.पन्त नेपालमा लघुवित्तका पिताका रुपमा चिरपरिचित छन् । निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको परिकल्पना डा.पन्तले नै गरेका हुन् । वित्तीय सेवाको पहुँच वृद्धि गरेर मात्रै गरिबी न्युनीकरण नहुने विपन्न परिवार स्वास्थ्य उपचार सम्बन्धी खर्चका कारण झनै गरिब हुँदै जाने देखि स्वास्थ्य उपचारमा सबैको पहुँच बृद्धि र समयमै उपचार गराउने बानीकोे विकास गराउँदै स्वास्थ्य उपचार खर्चको कारण परिवार पुनः गरिब हुन सक्ने भएकोले स्वास्थ्य उपचार खर्च जोेखिम घटाउने लगायतका सामाजिक सेवाको भावनाले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको २०७५ स्थापना भएको हो ।
प्रतिष्ठानले विगतमा समुदायमा आधारित लघु स्वास्थ्य सुरक्षा कार्यक्रम सन्जिवनी सञ्चालन गरेको थियो । यस कार्यक्रमबाट नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गर्ने क्रममा पुर्याएको सहयोग उल्लेखनीय रहेकोे बताइन्छ । संस्थाले झण्डहवामा स्वास्थ्य क्लिनिक सञ्चालन गर्नुका साथै समुदायमा स्वास्थ्यमा रहेको जोखिम न्युनिकरण गराउने स्वास्थ्य परीक्षण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।