नेपालगन्ज : महामानव विपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा आइतबार नेपालगन्जमा बृहत रक्तदान गरिएको छ । नेपाल तरुण दल बाँकेको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान गरिएको हो ।
कार्यक्रममा १ सय १५ जनाले रक्तदान गरेको र उनीहरुबाट १ सय १५ पिन्ट रगत संकलन भएको नेपाल तरुण दल बाँकेका सचिव बिनोद रिजालले जानकारी दिए । रक्तदानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, सर्बसाधारण लगायतले सक्रिय सहभागिता जनाएका थिए ।
तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाल तरुण दलका केन्द्रीय सदस्य विश्वराज लम्साल, तरुण दल बाँकेका संस्थापक अध्यक्ष एवम् पुर्वकेन्द्रीय सदस्य सुदिपनरसिंह राणा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त कार्यक्रम सञ्चालन तरुण दल बाँकेका सचिव बिनोद रिजालले गरेका थिए । रक्तदान उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु, नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, प्रदेश सभा, नगर समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
वर्षातको समय भएपनि कार्यक्रममा सहभागिता जनाएर रक्तदान गर्ने सबैलाई अध्यक्ष शाहले धन्यवाद ब्यक्त गरेका छन् । ‘बिहानैदेखी पानी परिरहेको अवस्था थियो, तैपनि कार्यक्रम राम्रै हिसाबले सम्पन्न भयो, रक्तदानमा सहभागिता जनाउनु हुने सबै रक्तदातालाई म हृदयदेखी नै धन्यवाद दिन चाहन्छु,’ शाहले भने ।
तस्बिरहरु : भगतराम थारु