नेपालगन्ज : नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेलाले १० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गरेको छ । युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतमको सभापतित्व एवम् युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उक्त घोषणापत्र जारी गरेको हो ।
उक्त भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जोडदार रुपले माग गरेको छ । युनियनले पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बद्लिँदै गरेको अवस्थामा समयानुकुल व्यवसायिक पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने ठहर गरेको छ ।
भेलापछि प्रदेश महासचिव नवीन गिरीद्वारा जारी विज्ञप्तीमा लुुम्बिनी सञ्चार समन्वय परिषद त्रुटीरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडिया सम्बन्धि सबै काम सोही परिषदमार्फत गर्ने व्यवस्था मिलाउन माग गर्दै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटीपूर्ण भएकाले संशोधन गर्नुपर्ने भनिएको छ ।
यस्तै लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालिनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न युनियनले सचेत गराएको छ ।
मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । पत्रकारको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न माग पनि गरिएको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र साँस्कृतिक क्षेत्रको प्रचार–प्रसार, संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रबद्र्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता ब्यक्त गरिएको छ ।
दुई दिने प्रदेश स्तरीय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण समय दिएर सहभागी हुने प्रमुख अतिथी, विशिष्ट अतिथी, युनियनका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेशका १२ वटै जिल्लाका कार्यसमितिका पदाधिकारी लगायत सहभागी सबैप्रति कृतज्ञता प्रकट गर्दै आतिथ्यताका लागि जिल्ला शाखा प्युठान र स्वर्गद्वारी आश्रम परिवारप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
युनियन लुम्बिनी प्रदेशको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा यही भदौं २२ र २३ गते स्वर्गद्वारीमा प्रदेशस्तरीय भेला र बिस्तारित बैठक भव्यरुपमा सम्पन्न भएको महासचिव गिरीले बताए । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त भेलाको उद्घाटन गरेका थिए भने बिस्तारित बैठकको उद्घाटन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गरेका थिए ।
उक्त भेलामा नेपाली काँग्रेस लुम्बिनीका सहमहामन्त्री एवम् प्रदेश सांसद निमा गिरी, प्रदेश सदस्य अमर भण्डारी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेल, केन्द्रिय सदस्यहरू, जिल्ला अध्यक्ष एवं पदाधिकारी, पत्रकार महासंघ प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको युनियन प्रदेश समितिले जनाएको छ ।