नेपालगन्ज : नेपालको राजनीतिका शिखर व्यक्तित्व विपी कोइरालाको आदर्श र मुल्यको राजनीति नेपालको राजनीतिक इतिहासमा चिरकाल पर्यन्त स्मरणीय रहनेछन् । उनमा भएका निजत्वको प्रतिविम्व स्पष्ट राजनीतिक विचार र नेतृत्वका हिसावले राष्ट्रवादी समाजवादी चिन्तकका रुपमा राजनीतिक वृत्तमा स्थापित नाम हो ।
विश्व राजनीतिक परिवेशलाई अत्यन्त सुष्मतम दृष्टिकोणसम्म पुगेर विश्लेषण गर्न सक्ने र त्यसको सान्दर्भिकतालाई नेपालको भू-राजनीतिक धरातलमा विविध आयामसहित स्पष्ट प्रयोग गर्ने खुबी भएका नेताका रुपमा कोइरालालाई लिन सकिन्छ ।
कोइरालामा अन्तरनिहित बहुआयामिक प्रतिभाको सोपानको अलग पाटोको प्रतिनिधित्व साहित्यिक व्यक्तित्व र आख्यान साहित्यमा अलग धारका अग्रज श्रष्टाका रुपमा नेपाली साहित्याकाशमा उच्च मुल्यांकन गरिन्छ । उनका कालजयी सिर्जनाहरुमा सुम्निमा, तीन घुम्ती, मोदी आइन तथा हिटलर र यहुदी जस्ता औपन्यासिक कृृति तथा जेल जर्नल लगायतका आत्मवृत्तान्तहरुले राजनीतिक बैचारिकताको आत्मबोध, यौन मनोविज्ञानको विश्लेषण तथा सामाजिक रुपान्तरण र मनो-सामाजिक साँंस्कृतिक द्वन्द्वलाई बैचारिक धरातलमा सटिक प्रस्तुती गरेको पाइन्छ ।
जीवन र जगतका मूल्य र मान्यतालाई राजनीतिक विचार र साहित्यिक पक्षबाट उजागर गर्न सक्ने विलक्षणता विपी कोइरालामा राजनीतिक विचार तथा सिद्धान्त र साहित्यिक सिर्जनाका प्रतिविम्ब बग्रेल्ती देखिन्छन् । महामानव विपी कोइरालालाई नेपाली राजनीतिमा अग्रज समाजवादी चिन्तक तथा पथ प्रर्दशकका रुपमा आम राजनीतिक बृत्तमा लिइन्छ ।
सही मानेमा विपी कोइराला विश्व समाजवादी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । नेपालमा लोकतान्त्रिक समाजवादको यात्रामा विपी कोइरालाको नेतृत्वदायी भूमिका दक्षिण एशिया तथा सिंगो एशियाका लागि मार्गदर्शक हुन सकेको छ । जसले गर्दा कोइरालालाई नेपाली काँग्रेसका अग्रणी नेता तथा जननायकका रुपमा मात्र स्थापित नगरेर समसामयिक विश्व राजनीति र विशेषतः दक्षिण एशियाको अग्रज लोकतान्त्रिक समाजवादी नेताको रुपमा उभ्यायो ।
विपी कोइरालाले आफ्नो प्रजातान्त्रिक सरकारको नेतृत्वका समयमा कुशल परराष्ट्र नीति अवलम्बन गरेका थिए । उनको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रुपमा लियो । जसको फलस्वरुप नेपालले दुई ठूला छिमेकी भारत तथा चीन लगायतका विश्वका सबै मित्र राष्ट्रहरुसँग यसै नीतिका आधारमा कुटनीतिक सम्बन्ध स्थापना र बिस्तार गर्न सकियो ।
सगरमाथाको आधिकारिकताका सन्दर्भमा उठान भएको राष्ट्रिय हित प्रबद्र्धनका सवालमा चीनसँग दरो रुझानका साथ सगरमाथा नेपालको भएको तथ्यलाई उनले आफ्नो चीन भ्रमणका समयमा राख्नुभयो र त्यसलाई चीन सरकारले सहज रुपमा लियो र यस सम्बन्धि समझदारी कायम भयो ।
तत्कालिक समयमा एक नियमित पत्रकार भेटघाट कार्यक्रममा विपी कोइरालाले भने, ‘नेपालले सधै असंलग्न परराष्ट्र नीतिलाई अपनाउनेछ । कतिपय विषयमा नेपालको भारतसित मत भिन्नता रहेपनि तिब्बतका बारेमा नेपाल र भारतको धारणामा फरक छैन । तिब्बत चीनकै एक भाग हो भन्ने कुरालाई नेपालले पनि स्वीकार गरिसकेको छ ।’
शितयुद्धको चरम अवस्थाको विश्व परिवेशमा राजनीतिक घटनाक्रमहरुको विश्लेषण गरिएको खण्डमा विश्व कम्युनिष्ट खेमा र पुँजीजवादी खेमामा धु्रवीकरण भएको अवस्था थियो । तात्कालिक समयमा पुँजीवादी प्रजातान्त्रिक खेमाको नेतृत्व संयुक्त राज्य अमेरिका र साम्यवादी कम्युनिष्ट खेमाको नेतृत्व तत्कालिक साम्यवादी देश सोभियत संघले गरेको थियो ।
त्यस समयमा विश्व राजनीतिक परिवेश यस्तो चरम बैचारिक राजनीतिक ध्रुविकरणको अवस्थाबाट गुज्रिरहेको थियो कि कुनैपनि राष्ट्र-राज्यले आफ्नो राजनीतिक बिचार, आर्थिक नीति तथा विकास र सामरिक सुरक्षाका फरक रणनीति र बैदेशिक नीतिका अलग मान्यता बोकेका विश्वव्यापी दुई खेमाका सदस्यका रुपमा सामरिक सुरक्षा तथा आर्थिक विकास र रुपान्तरणका लागि प्रयत्न गर्नु नितान्त स्वाभाविक र आवश्यक थियो ।
यस्तो विषम तथा अतिसम्वेदनशिल राजनीतिक काल खण्डबाट गुज्रिरहेको अवस्थामा विपी कोइरालाले प्रमुख राजनीतिक तथा बैचारिक समुह भन्दा माथि उठ्दै चरम साम्यवादी कम्युनिष्ट बैचारिक धारा र खुल्ला पुँजीवादी धारभन्दा पृथक बिचारको उदार समाजवादी विचारधाराका मूल्य र मान्यतालाई अघि बढाउनु भयो ।
उदार समाजवादी नीति तथा त्यसै नीतिको जगमा उभिएको आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रमलाई तत्कालिक विपी कोइरालाको जनमुखी सरकारले प्राथमिकताका साथ लागू गर्ने कार्यको थालनी पनि भएको हो । जननिर्वाचित बिपी कोइरालाको छोटो समयको सरकारले उनकै समाजवादी चिन्तन र नीति अनुसारको राज्य व्यवस्था सञ्चालन र विकासलाई अघि बढाउन सक्यो ।
जनताबीच विपी कोइरालाका आर्थिक विकासका नीतिगत कार्यक्रम तथा त्यसैको जगमा उठेको सामाजिक, साँस्कृतिक परिवर्तनका कार्यहरुले नेपालको विकासमा नयाँ बिहानीको सुरुवात गर्न सकेको थियो । तर, हठात रुपमा विपी कोइरालाको लोकप्रिय जनउत्तरदायी सरकार तत्कालिक राजा महेन्द्रको उच्च महत्वकांक्षा तथा राजनीतिक शक्तिआर्जन र प्रत्यक्ष प्रयोग गर्ने मनसायले प्रेरित भई २०१७ साल पुस १ को गैरप्रजातान्त्रिक कदमका कारण अवसान गरियो ।
जसको परिणाम स्वरुप दल बिहिन चरित्रको निर्दलीय पञ्चायतको नाममा देश पुनः राजनीतिक स्वतन्त्रता शुन्य व्यवस्थातर्फ विमुख भयो । विपीको आदर्श र विचारधारालाई पञ्चायती व्यवस्थाको नाममा निस्तेज तथा तेजोवध गर्ने कार्यले करिव ३ दशकसम्म देशको विकास र स्वतन्त्र राजनीतिक चिन्तनधारालाई कुण्ठित गर्ने कार्य भयो ।
नेपाली काँग्रेसको नेतृत्वमा तथा जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको अगुवाईमा तत्कालिक संयुक्त बाममोर्चाको सहकार्यमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात देशमा फेरी बहुदलीय व्यवस्थाको पुनस्र्थापना सफल भयो । लोकतान्त्रिक समाजवादले आफ्नो बैचारिक आधार खडा गर्ने क्रममा धेरै आरोह-अवरोहलाई पार गर्दै आएको छ ।
लोककल्याणकारी राज्यको अवधारणालाई मुर्तता दिने सवालमा समाजवादका विविध मूल्य र सारको फ्युजका रुपमा लोकतान्त्रिक समाजवादलाई लिन सकिन्छ । पाश्चात्य जगतका समकालिक चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुिक्त र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा हितको संरक्षण हुन सक्ने वैचारिक आधार प्रस्तुत गरे, जसलाई कुनै न कुनै रुपमा माक्र्स र एंगेल्सले आफ्नो कम्युनिष्ट विचार र माक्र्सवादी चिन्तनका वैचारिक बहस चलाएका थिए । लोकतान्त्रिक समाजवादको सारभूत महत्वपूर्ण पक्ष वर्ग समन्वयको आधार यिनै समाजवादी चिन्तक तथा दार्शनिकहरुले तयार गरेका हुन् ।
वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयामलाई महत्व दिएर लोकतान्त्रिक समाजवादले तेस्रो विश्वका अतिकम विकसित तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि नविन विचारधाराका रुपमा काम गर्यो । यस दिशामा नेपालको समुल आर्थिक राजनीतिक इतिहासको विश्लेषण गरिएको खण्डमा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले नेपाली जनताको आर्थिक उत्थान, सामाजिक रुपान्तरण तथा विकासका लागि कुनै न कुनै रुपमा योगदान दिई आएको छ । जसलाई कसैले पनि नजरअन्दाज गर्न सकिँदैन् ।
यसै सन्दर्भमा विश्वका लोकतान्त्रिक समाजवादी विचार र सिद्धान्त अंगिकार गर्ने विभिन्न मुलुकका राजनीतिक दल तथा संगठनहरुले सोसलिष्ट इन्टरनेशनलको स्थापना गरे र नेपाली काँग्रेस पार्टीले पनि यसको सक्रिय सदस्यका रुपमा सोसलिष्ट इन्टरनेशनलमा आफ्नो पहिचान र भूमिकालाई अघि बढाउँदै लग्यो । तत्कालिक समयमा विपी कोइरालाले नेपाली काँग्रेस पार्टीको सभापति तथा नेताका रुपमा यस अन्तर्राष्ट्रिय संगठनमा आफ्नो नेतृत्वदायी क्षमता र विशिष्ट कार्यशैलीको पहिचान दिएका थिए ।
विश्व व्यवस्थामा देखिएको चरम गुटवन्दी तथा अलग राजनीतिक वैचारिक प्रभावबाट पृथक पहिचान दिने उदार समाजवादी विचार बोक्ने यस अन्तर्राष्ट्रिय मञ्च सोसलिष्ट इन्टरनेशनलको संस्थागत विकासमा विपी कोइरालाको महत्वपूर्ण भूमिका रह्यो ।
नेपाली काँग्रेसले यस अन्तर्राष्ट्रिय संस्थामा आफ्नो सहभागिता र भूमिकालाई निरन्तरता दिँदै आएको छ । तर, मुलभूत कुरा लोकतान्त्रिक समाजवादी चिन्तनधारा र विचारलाई व्यवहारको कसीमा कत्तिको तिखार्न सकिएको छ र लोकतान्त्रिक समाजवादी सिद्धान्तको सान्दर्भिकतालाई आत्मसात गर्ने दिशामा कत्ति कार्य भए यस्ता कुराले अहम् महत्व राख्दछ ।
आफु प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी प्रमुख भई सकेपछि उनकै अध्यक्षतामा बसेको योजना आयोगको बैठकमा नेपाल किसान र मजदुरको देश भएकोले जबसम्म किसान र मजदुरको उत्थान र विकास गर्न सकिंदैन तबसम्म यो मुलुकको विकास र राजनीतिक परिवर्तनले मूर्तता पाउन सक्दैन् भन्दै विकासका योजना बनाउँदा तिनै किसान र मजदुरलाई आत्मसात गरेर योजना बनाउन उनले निर्देशन दिए । विपी कोइरालाले अघि सारेको वैचारिक मान्यता आज पर्यन्त पनि समय सान्दर्भिक छ ।
आजको समसामयिक परिवेशमा विकास, परिवर्तन तथा राजनीतिक स्थायित्वका लागि विपी कोइरालाले आजभन्दा सात दशकअघि प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिको अनुप्राणिकता सान्दर्भिक रहेको विश्लेषण गर्न सकिन्छ ।
बर्तमान प्रचण्ड नेतृत्वको महागठबन्धन सरकार र सिंगो मुलुकको संबिधानले समेत समाजवादन उन्मुख आर्थिक विकासको खाका अघि बढाउने प्रतिबद्धता जाहेर गरेको सन्दर्भमा नेपालको समृद्धि र विकासका लागि समाजवाद अचुक अस्त्र हो गरिबी, असमानता तथा विकासका अवसरबाट बञ्चित जनताको आर्थिक विकास तथा सामाजिक रुपान्तरण नै समाजवाद हो, जसमा लोकतान्त्रिक सरकारले ध्यान दिनुपर्दछ ।
विपी कोइराला जस्ता बहुआयामिक ब्याक्तित्वले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद नै मुलुकको आर्थिक, राजनीतिक, समाजिक जीवनलाई रुपान्तरण गर्न सक्दछ । तर, उहाँ कै दल काँग्रेसले समेत विपीको समाजवादी अर्थतन्त्रलाई मृत्यु शैयामा पुर्याएर पैसाबाट बस्तु उत्पादन गर्ने समाजवादी अर्थ ब्यवस्था भन्दा पनि पैसाले पैसा नै उत्पादन गर्ने दलाल पुंँजीवादी अर्थतन्त्रलाई उच्च प्राथमिकता दिनु बिडम्बना मात्र होईन विपीप्रति घोर अपमान हो ।
आज विपी कोइरालाको जन्मजयन्तीमा आम विशेष गरी नेपाली काँग्रेसका नेतृत्वमा पैसाले पैसा उत्पादन गर्ने भ्रष्ट अर्थ ब्यवस्था र यो भ्रष्टीकरणमा चुर्लुम्म डुबेको समकालीन नेपालको राजनितीलाई संगाल्ने सत्बुद्धी आओस् । समाजवादका चिन्तन जननिर्वाचित पहिलो प्रधानमन्त्री विपी कोइरालाप्रति भावपुर्ण श्रद्धाञ्जली !