नेपालगन्ज : प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरको विशेष पहलमा महिलाहरुको पाठेघर सम्बन्धि एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित स्वास्थ्य चौकीमा मंगलबार उक्त शिविर सञ्चालन गरिएको हो ।
फातिमा फाउण्डेशन नेपाल (महिला तथा बालबालिकाको लागि) नेपालगन्जको आयोजना, जानकी गाउँपालिका र भेरी अस्पतालको समन्वय तथा टेवा काठमाडौंको सहयोगमा सहयोग शिविर सञ्चालन गरिएको थियो ।
फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकीको सभापतित्व सम्पन्न शिविर उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री राठौंरले महिलाको जनताको स्वास्थ्यप्रति नेपाली काँग्रेस अत्यन्त संवेदनशिल रहेको बताए । काँग्रेसले नेतृत्व गरेको स्थानीय, प्रदेश र संघीय सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए ।
सो क्रममा जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ र जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद यादवले मन्तब्य ब्यक्त गरेका थिए ।
शिविरका क्रममा प्रतिनिधि सभाका सांसद आशा बि.क, लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र शाह, नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का सभापति नविनकुमार भट्ट, ज्ञानोदय पुस्तकालय कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराई, फातिमा फाउण्डेशनका महासचिव हुमा अख्तर, संस्थाकी सदस्य गंगा ओली लगायतको उपस्थिती रहेको फातिमा फाउण्डेशनकी कोषाध्यक्ष सुबेदा फरहीनले जानकारी दिइन् । उक्त शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर सन्देश आचार्य र एलिस श्रेष्ठले महिलाको स्वास्थ्य जाँच गरेका थिए ।