नेपालगन्ज : बाँकेका ६८ जना सञ्चारकर्मीको मंगलबार निःशुल्क मृगौला परिक्षण गरिएको छ । नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा युनियन बाँके शाखा र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा परिक्षण गरिएको थियो ।
सेन्ट्रल सिटी हस्पिटलका म्यानेजर किरण ऐरीले कुल ६८ जना सञ्चारकर्मीको मृगौला परिक्षण गरिएको जानकारी दिए । उनका अनुसार हस्पिटलका निर्देशक समेत रहेका युरोलोजिष्ट डा. दिपेश गुप्ता र प्याथोलोजिष्ट डा. सर्मिला गुप्ताले सञ्चारकर्मीको स्वास्थ्य परिक्षण गरेका थिए ।
‘सञ्चारकर्मीहरु ६८ जनाले आज मृगौला परिक्षण गराउनु भयो,’ ऐरीले मंगलबार बेलुका भने 'उहाँहरुको रगत र पिसाबको नमुना लिएर मृगौला जाँच गरेका थियौं ।' अधिकांस सञ्चारकर्मीको मृगौलाको अवस्था सामान्य रहेको र कतिपय सञ्चारकर्मीमा मधुमेह देखिएको हस्पिटलले जनाएको छ ।
सेन्ट्रल सिटी हस्पिटल परिसरमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्व एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गिय चाचाजीले आफ्नो जीवनकालमा सधैं साईकल चलाउने गरेको स्मरण गर्दै सञ्चारकर्मी स्वस्थ हुनका लागि नियमित रुपमा साईकल चलाउनुपर्ने बताए ।
युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मृगौला परिक्षण कार्यक्रम राखेको बताए । कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष केसी, पुर्वमेयर एवम् प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले मन्तब्य ब्यक्त गरेका थिए । युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गरेका थिए ।
गतवर्ष पनि आजकै दिन प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानले सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको सहकार्यमा सञ्चारकर्मीको निःशुल्क मृगौला परिक्षण गरिएको थियो । त्यतिबेला कुल ४७ जनाले निःशुल्क मृगौला परिक्षण गराएका थिए ।
यो पनि पढ्नुस् :
‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मृगौला परीक्षण
गुप्तको ९५ औं जन्मजयन्तीको अवसरमा निःशुल्क मृगौला परीक्षण गरिदै