बाँके(फत्तेपुर) : जिल्लाको राप्तीसोनारी गाउँपालिका-६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न ब्यक्तीको पहिचान गर्न प्रहरी असफल भएको छ । गत साउन ३२ गते राती वडा कार्यालयको ढोकाको ताला फोडेर सबै सामान चोरी भएको थियो ।
चोरले कार्यालयमा रहेका कम्प्युटर ३ थान, सिपियु १ थान, प्रिन्टर २ थान, ई-हाजिरी १ थान, मल्टिप्लक ५ थान, इन्र्भटर १ थान, ठुलो ब्याट्री २ थान, पानी मोटर १ थान, वाल फ्यान २ थान, वाईफाई राउटर १ थान, वाल घडी १ थान र एलईडी बल्ब २ थान लगेका थिए ।
वडा कार्यालय चोरी भएको एक महिना पुग्न लाग्दा समेत प्रहरीले चोरको पहिचान गर्न नसकेको भन्दै जनप्रतिनिधिले असन्तुष्टी जनाएका छन् । राप्तीसोनारी ६ का वडाअध्यक्ष लवराज खरेलले अहिलेसम्म चोरको पहिचान हुन नसकेको बताए । ‘वडा कार्यालय चोरी भएको एक महिना पुग्न लागिसक्यो, अहिलेसम्म प्रहरीले चोर पत्ता लगाउन सकेको छैन,’ उनले भने ।
प्रहरीले वडा कार्यालयको चोर पत्ता लगाउन नसकेपछि वडास्थित सर्बदलिय तथा सर्बपक्षिय बैठकमार्फत बुधबार सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । उक्त घटनाको दोषी पत्ता नलागे पुनः सर्बदलिय बैठक बसेर दवाव मुलक कार्यक्रम गरिने वडाअध्यक्ष खरेलले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
यस्तै राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले वडा कार्यालयको घटनामा प्रहरीले गरेको अनुसन्धानमाथी आफुहरुले विश्वास मानेको बताए । ‘प्रहरीलाई हामीले स्वतन्त्रपूर्वक अनुसन्धान गर्न सहयोग गरेका छौं, तर स्थानीय सरकार जस्तो संवेदनशिल निकायमा भएको चोरीको घटनामा संलग्न ब्यक्तीको अहिलेसम्म पहिचान हुन नसक्नु दुःखद कुरा हो,’ उनले भने ।
ईलाका प्रहरी कार्यालय भोजभगवानपुर (गंगापुर)का प्रमुख एवम् प्रहरी निरीक्षक राजन रायमाझीले वडा कार्यालयमा भएको चोरीको आवश्यक अनुसन्धान भइरहेको बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ, अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न सकिएको छैन,’ रायमाझीले भने ‘तत्कालिन अवस्थामा हामीले सोधपुछ त धेरैलाई गरेका हौं, तर चोरको पहिचान हुन सकेन ।’
यो पनि पढ्नुस् :
राप्ती सोनारी ६ को वडा कार्यालयमा चोरी, वडाको सबै सेवा ठप्प