नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमिति पदाधिकारीले शुक्रबार शपथ ग्रहण गरेका छन । संघको सभा हलमा शुक्रबार बिहान सपथसँगै पदभार पनि ग्रहण गरेका छन् ।
महासचिवको भने सपथ गराइएको छैन । मतगणनाको विवाद अदालतसम्म पुगेको थियो । अदालतले रोकेका कारण महासचिव पदको सपथ रोकिएको हो ।
महासचिव पदमा टंकप्रसाद शर्मा र भिमबहादुर रानाभाटबीच प्रतिस्पर्था भएको थियो । मतगणनाका क्रममा गणकले मतपत्र गणना गर्न बाँकी रहँदै रानाभाटलाई विजयी घोषणा गरेको भन्दै शर्मा सम्बद्ध साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह न्यायका लागि अदालत पुगेको थियो ।
उक्त समूहले यसअघि निर्वाचन अधिकृतको कार्यालय रहेको नेपालगन्ज रंगशाला र नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेको थियो ।
संघमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष टंक बहादुर धामीसहित चिरञ्जीवी ओली (प्रथम उपाध्यक्ष), हरिलाल न्यौपाने (द्धितिय उपाध्यक्ष), मन्दिरा पाण्डे (महिला उपाध्यक्ष), टेक बहादुर खड्का (उपमहासचिव), मख्खनबहादुर धामी (कोषाध्यक्ष) ले सपथ गरेका छन् ।
यसैगरी सदस्यहरु विष्णु श्रेष्ठ, डम्बर बहादुर चन्द, शिवप्रसाद दहाल, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन के.सी., युवराज ढकाल, बुद्धिबहादुर बि.के., सन्तोषकुमार पौडेल, टिकामणि उपाध्यय, कमलकुमार कार्की (एशोशिएट), प्रदिपकुमार गुप्ता (एशोशिएट), किसन गुरुङ्ग (सम्बद्ध), हिमनाथ पौडेल (सम्बद्ध) र विनय श्रेष्ठ (सम्बद्ध) ले पनि सपथसंगै पदभार गरेको संघले जनाएको छ ।
यसैबीच संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार समेत रहेका अग्रज ब्यवसायी ललितकुमार रौनियारले संघको ईतिहासमै 'कलंकित' भदौं २ गते सम्पन्न भनिएको 'कथित' निर्वाचन भएको उल्लेख गर्दै निर्वाचन परिणाम अहिले पनि कानुनी मान्यताको पर्खाइमा रहेको बताएका छन ।
अदालतको आदेश नपर्खेर चोर बाटोबाट बिहानै ८ बजे बन्द कोठामा सपथ खुवाउने कार्यक्रम राखिएको आरोप लगाउँदै सामाजिक संजालमा लेखका छन, 'यो कस्तो अचम्मको निर्वाचन भएको हो, जसको अन्तिम नतिजा समेत निर्वाचन आयोगले घोषणा गरेको छैन, विगतको निर्वाचनको सपथग्रहण कार्यक्रममा सम्बन्धित सरकारी कार्यलयका प्रमुखहरु, उद्योगपतिहरु, ब्यावसायीहरुलाई बोलएर ओपचारिक कार्यक्रम राखेर सपथ ग्रहण गराउने परम्परा थियोे, तर विवादास्पद बनेको निर्वाचनमा आयोगले त्यो साहस गर्न नसकेकोले नै होला यसरी चोर बाटोबाट सपथ गराउन थालेको ।'