आज असोज ३ गते । संविधान दिवस अर्थात आजकै दिन दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.ले आफ्नो अनलाईन समाचार पोर्टल ‘दूरसञ्चार डटकम’ स्थापना गरेको थियो । २०७८ असोज ३ गतेका दिन स्थापना भएको अनलाईन समाचार पोर्टलले आज सफलता पूर्वक दुई वर्ष पुरा गरेको छ । नेपाली जनता आफैले संविधान जारी गरेको गौरवपूर्ण र ऐतिहासिक दिन भएकाले दुरसञ्चार डटकमले यसै दिनको अवसरमा आफ्नो यात्रा थालनी गरेको थियो ।
२०७२ असोज ३ गतेका दिन संविधान सभाबाट जारी भएको संविधानले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । यस गौरवपूर्ण र ऐतिहासिक दिनलाई साक्षी राखेर हामीले अनलाईन समाचार पोर्टललाई औपचारिक रुपमा सुभारम्भ गरेका थियौं । पछिल्लो समय विश्वमा प्रविधिको विकास ह्वात्तै बढेको छ । प्रविधिले नेपालमा पनि फड्को मारेको छ । जसका कारण डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदै गएको छ ।
तत्कालै सूचना सम्प्रेसन गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने दिशामा यो पत्रकारिताले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । छापा हुँदै विकसित भएर आएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । पाठकलाई पल-पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्नसक्ने भएकाले डिजिटल पत्रकारिताको महत्व र आवश्यकता धेरै छ ।
पत्रकारिताले ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पनि जिम्मेवार र जवाफदेही बनाउने काम गर्दछ । पत्रकारिता क्षेत्र लोकतन्त्रको एउटा महत्वपुर्ण स्तम्भ पनि हो । लोकतन्त्रमा मात्र पत्रकारिता सम्भव हुन्छ । जब लोकतन्त्र खतरामा पर्छ, तब पत्रकारिता पेशा संकटमा पर्छ । त्यसैले हामी जहिलेपनि प्रेस स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्दछौं र यही मान्यताका साथ पत्रकारितालाई अगाडी बढाएका छौं ।
संविधानले अंगीकार गरेका मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता सहितको बहुलवाद र मानव अधिकार हाम्रा आर्दश हुन् । संविधानले गरेको ब्यवस्था अनुसार आमनागरिकको जीवनलाई व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित भइरहेको छ । आमनागरिकले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा र राज्यले आमनागरिकलाई गर्ने ब्यवहारप्रति हाम्रो नजर केन्द्रित छ ।
राज्यका हरेक निकाय र आमनागरिकलाई पत्रकारिताको माध्यमबाट उत्तरदायी र जवाफदेही बनाउने हाम्रो प्रयास छ । सरकारी निकायमा भएका राम्रा कामको प्रशंसा र भ्रष्टाचार तथा अनियमितताविरुद्ध हाम्रो निगरानी भइरहेको छ । ‘दूर’ अर्थात टाढा रहेका आमनागरिकका दैनिकी, उनीहरुका समस्या, भोगाई जस्ता विषयलाई सञ्चार माध्यममार्फत उजागर गर्ने हाम्रो मुल उद्देश्य नै हो । त्यसैले दुर्गमदेखी सुगम सम्मका खबर प्रवाहको काम ‘दूरसञ्चार डटकम’ ले निरन्तर गर्दै आएको छ ।
हामी सबैलाई समान नजरले हेर्दै आएका छौं । कुनैपनि राजनीतिक आस्थाबाट प्रेरित भएका छैनौं । कुनै राजनीतिक विचारलाई हामीबाट पक्षपोषण वा निषेध भएको छैन र आगामी दिनमा पनि हुन दिने छैनौं । सबै जाति, धर्म, वर्ण, लिंग, भुगोल, क्षेत्र र राजनीतिक आस्थाका आधारमा कसैलाई निषेध र कसैको पक्षपोषण गरिएको छैन ।
आगामी दिनमा पनि आमचासोका विषय, नागरिकको जीविकोपार्जन, सुशासन जस्ता विषयमा हाम्रो नजर हुनेछ । सफलताको दुई वर्षे यात्राले हामीलाई थप उत्साहित बनाएको छ । दूरसञ्चार डटकममा प्रकाशन गर्ने हरेक सामाग्रीको गुणस्तरमा विशेष जोड दिएका छौं । दूरसञ्चार डकमका साथै हाम्रो युटुव च्यानल ‘दूरसञ्चार टिभी’ मार्फत भिडियो, रिपोर्ट तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
तसर्थ, हाम्रो यस अभियानले सफलताको दुई वर्ष पुरा गर्नमा सबैभन्दा महत्वपूर्ण र प्रेरणाका स्रोत भनेकै आमपाठक वर्ग हुनुहुन्छ । यहाँहरु सबैको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौं । धन्यवाद !