नेपालगन्ज : डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये अझै ९ जना बाल कैदीबन्दी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
बाल सुधार गृहभित्र दुई पक्षबीच बिहीबार राती झडप हुँदा रुपन्देहीका १८ वर्षीय सुलभ केसीको मृत्यु भएको थियो, भने १० जना घाइते भएका थिए । मृतक केसीमाथी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुर लागेको थियो ।
बाल सुधार गृहमा भएको तनाव साम्य भएपनि फरार रहेका ९ जना शुक्रबार अपरान्हसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले जानकारी दिएका छन् ।
उनका अनुसार बिहीबार राती १० बजे कैदीबन्दी बीच झडप सुरु भएको थियो । त्यसपछि सुधार गृहमा रहेका २ सय ५४ जना कैदीबन्दी बाहिर निस्केका थिए । तीमध्ये २ सय ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सम्पर्कमा नआएका ९ जनाको खोजी गर्न प्रहरी टोली विभिन्न ठाउँमा परिचालन भएको जिप्रका बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सन्तोषसिंह राठौंर सहितको टोली शुक्रबार दिनभर बार्ताका लागि बाल सुधार गृहमै रहेको छ । असन्तुष्ट बाल कैदीबन्दीसँग अहिले छलफल चलिरहेको डिएसपी डाँगीले बताए ।
‘बाल सुधार गृहमा असहज अवस्था सिर्जना भएपछि त्यहाँ रहेका बालकैदी बन्दी बाहिर निस्केका हुन्, पछि सम्पर्कमा आए, तर अझै ९ जना भने सम्पर्कमा आएका छैनन,’ डाँगीले भने ‘उनीहरु पनि आफै सम्पर्कमा आउने विश्वास छ ।’ बाल सुधार गृहमा भएको तनाव साम्य भइसकेको उनले जानकारी दिए ।
झडपमा उत्रिएका सुधार गृहका बालकहरूले राती भवन तथा पर्खाल तोडफोड गर्नुका साथै झ्यालका सिसा फुटाएका थिए । यस्तै उनीहरुले ड्युटीमा खटिएका प्रहरीमाथि पनि ढुङगा तथा इँटा प्रहार गरेका थिए । बाल सुधार गृहमा यसअघि पनि पटक-पटक विवाद हुने गरेको थियो । उक्त सुधार गृह नेपालगन्ज बजार क्षेत्रदेखि करिब ३ किलोमिटर पुर्वमा रहेको छ ।
यो पनि पढ्नुस् :
जयेन्दु बाल सुधार गृहमा झडप, एकको मृत्यु, १० जना घाइते