बाँके(खजुरा) : जनता माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा निःशुल्क आँखा चेकजाँच गरेको छ । समाजको आयोजना तथा भिजन आँखा अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा शनिबार निःशुल्क आँखा जाँच गरिएको हो ।
कार्यक्रममा समाजको वर्तमान कार्यसमिति पदाधिकारी, कार्यसमिति, सल्लाहकार र आजीवन सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमको विशेषज्ञ सेवामा आँखाको निशुल्क चेकजाँच, आँखाको प्रेसर जाँच लगायत निःशुल्कक औषधी वितरण र चस्मामा छुट सहितको सेवा दिइएको थियो । शनिबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालित आँखा चेकजाँचमा २० जनाले सेवा लिएका थिए ।
समाजका सल्लाहकार एवं कार्यक्रमका संयोजक डा. प्रचण्ड गौतमले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । ‘हामी पूर्वविद्यार्थीहरु आजीवन सदस्यको रुपमा अगाडी बढे हामी बीचको सहयोग सहजै प्राप्त गर्न सक्ने हुँदा समाजमा आजीवन सदस्य वृद्धि गर्नतर्फ लाग्न मेरो अनुरोध छ,’ उनले भने ।
आफुले यसरी अध्ययन गरेको बिद्यालय परिवारको आँखा चेकजाँच गर्न पाउँदा खुसी लागेको र आफु समाजको हरेक कार्यमा जहिले पनि सँगै हुने बताए । कार्यक्रममा उपस्थित सबैलाई समाजका सदस्य सचिव टंकनाथ दाहालले स्वागत मन्तव्य राखेका थिए । सो क्रममा उनले पूर्वविद्यार्थीहरु समाजमा जोडिएर यसको गरिमा बढाउन लाग्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्षता ग्रहण गरेका जनता मावि सन्तकुटी पूर्वविद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले भने, ‘हामी जहाँ छौं, जुन स्थानमा छौं, त्यो स्थानबाट आ-आफ्नो ठाउँबाट सहयोग गरे समाजको गतिविधिलाई सकारात्मक रुपमा अगाडी बढाउन सकिन्छ ।’
कार्यक्रममा सहयोग पुर्याउने समाजका सल्लाकार एवं कार्यक्रमका संयोजक डा. गौतम लगायत भिजन परिवारप्रति आभार सहित धन्यवाद दिए । कार्यक्रममा उपस्थित हुने सम्पूर्ण पूर्वविद्यार्थीलाई धन्यवाद ब्यक्त गरे । सो कार्यक्रममा जनता मा.वि. सन्तकुटीबाट पहिलो एस.एल.सी. उत्तिर्ण पूर्वविद्यार्थी जगदिश चन्द्र तिमिल्सेनाको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रम पूर्वविद्यार्थी समाजका सचिव बिवेक लामिछानेले सञ्चालन गरेका थिए ।