नेपालगन्ज : यही असोज २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘परदेशी-२’ प्रवर्द्धन गर्न निर्माण पक्ष नेपालगन्जमा आईपुगेको छ । उक्त फिल्मले ब्यापक चर्चा पाइरहेका बेला उक्त टोली प्रचार प्रसारमा निस्केको हो ।
‘परदेशी-२’ को टिमले आइतबार नेपालगन्जमा पत्रकारहरुसँग साक्षात्कार गर्दै परदेशीको घरपरिवारका पीडा चलचित्रले दर्शाएको बतायो । चितवन हुँदै शनिबार नेपालगन्ज आइपुगेको उक्त टिमले नेपालगन्जका विभिन्न विद्यालयमा युवाहरुसँग भेट गरेपछि आइतबार पत्रकारहरुसँग साक्षात्कार गरेको हो ।
चलचित्र पत्रकार संघ नेपाल, बाँकेको समन्वयमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा ‘परदेशी-२’ को मुख्य भूमिकामा रहेका गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको उपस्थिती रहेको थियो ।
साक्षात्कार कार्र्यक्रममा बोल्दै निर्देशक रायमाझीले ‘परदेशी-२’ ले विदेशीने युवाहरुको ब्यथा, उनीहरुको परिवारको अवस्था लगायत विषयलाई समेटेको बताए । ‘परेदशी-२’ को कथावस्तुले दर्शकलाई मनोरञ्जनसँगै भावुक बनाउने उनको विश्वास छ । चलचित्रमा कथाको माग अनुसार सक्षम कलाकारलाई समेटिएको बताए ।
यसैगरी अभिनेत्री अधिकारीले ‘परदेशी-२’ निर्माणमा एउटा सक्षम टिम लागेको उल्लेख गर्दै चलचित्रले हरेक नेपालीको कथालाई प्रस्तुत गरेको बताइन् । बाँकेमा आफ्नो धेरै चलचित्रहरु छायांकन भएको स्मरण गर्दै भनिन्, ‘बाँकेमा नेपाली चलचित्रलाई माया गर्ने धेरै व्यक्तिहरु हुनुहुन्छ, बाँके मेरो दोस्रो घर हो, यहाँ मेरो धेरै चलचित्र छायांकन भएका छन् ।’
यस्तै अभिनेता सपूतले ‘परदेशी-२’ आफ्नो पहिलो चलचित्र भएको र कथाको माग अनुसार आफूले काम गर्न पूर्ण कोशिस गरेको बताए । उनले ‘परदेशी-२’ मा नेपाली दर्शकको चाहनालाई पूरा गर्नेगरी निर्माण गरिएको बताए । ‘परदेशी-२’ मा वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।
चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव बिक्रम बुढाक्षेत्रीले स्वागत गर्दै खुल्ला अन्तरक्रिया गराएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको उपस्थिती रहेको थियो । साक्षात्कार कार्यक्रम पश्चात ‘परदेशी-२’ को टिमले नाटक समेत प्रस्तुत गरेको थियो ।