बाँके(राप्ती सोनारी): राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा केहीदिन देखी पाटेबाघले पशु चौपायामाथी आक्रमण गरिरहेको छ । स्थानीय सामुदायिक वन क्षेत्रमा लुकेर बसेको पाटेबाघले गाई, गोरु, बाख्रा, राँगा र भैसीमाथी आक्रमण गर्दै आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
पाटेबाघको बिगबिगीका कारण स्थानाीय बासिन्दा आतंकित बन्न पुगेका छन् । बाघले जंगलमा चर्न गएकालाई मात्र नभएर घरमै आएर गाई, भैसी, भेडा, बाख्रामाथी आक्रमण गर्ने गरेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार राप्ती सोनारी २ का स्थानीयको मंगलबार दिउँसो २ वटा बाख्रा बाघले मारेको छ ।
यस्तै स्थानीय बिश्राम थारुको गोठमा बाँधेका ४ वटा गाईलाई समेत बाघले मारेको राप्ती सोनारीका स्थानीयले बताएका छन् । बाघ खोज्न डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी लगायत खटिएका छन् । पाटेबाघको बिगबिगी बढेपछि राप्ती सोनारी गाउँपालिका २ नम्बर वडा कार्यालयले वडाबासीका लागि साबधानी अपनाउन सूचना नै जारी गरेको छ ।
वडासचिव नारायण बिष्टले जारी गरेको सूचना अनुसार उक्त वडाको मदुवा र मदुई टोलको बीचमा केहीदिन देखी पाटेबाघ देखिदै आएको र सोमबार राती मात्रै मदुईमा किसानले पालेका गाई, गोरु, राँगा र भैसीलाई आक्रमण गरी घाईते बनाएकोले जंगल छेउछाउमा घर गोठ भएका स्थानीय बासिन्दाहरु बाघको आक्रमणबाट बच्न सावधानी अपनाउन हुन जानकारी गराइएको छ । बाघको आक्रमणबाट घाइते पशु चौपायाको उपचारको लागि वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।