नेपालगन्ज : बाँकेको राप्ती सोनारी २ स्थित सामुदायिक वनको जंगलमा मरेको अवस्थामा वयस्क पाटेबाघ फेला परेको छ । स्थानीय अशोक सामुदायिक वनभित्र मंगलबार साँझ पाटेबाघ फेला परेको हो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले बेलुका ८ बजेतिर मरेको अवस्थामा बाघ फेला परेको बताए । डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्ने उक्त जंगलमा पाटेबाघ मरेको हो ।
प्रमुख कर्णका अनुसार उक्त बाघ मानवबस्तीदेखी करिव अढाई सय मिटर भित्र जंगलमा फेला परेको थियो । बाघले केहीदिन यता स्थानीय बासिन्दाका गाई, गोरु, भैसी, राँगा र बाख्रामाथी आक्रमण गर्दै आएको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख कर्णले मृत अवस्थाको बाघलाई पोष्टमार्टमका लागि नेपालगन्ज ल्याइएको बताए । ‘बाहिरबाट हेर्दा शरिरमा कुनै त्यस्तो चोट पटक लागेको छैन,’ उनले भने ‘के कारणले मरेको रहेछ, त्यो कुरा पोष्टमार्टम रिपोर्टले नै बताउँला ।’ पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेटेरिनरी अस्पतालमा पठाइने कर्णले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बुढो अवस्थाको बाघ के कारणले मृत फेला पर्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘यो बाघ १५/१६ वर्षको जस्तो बुढो देखिन्छ,’ बाघको विषयमा पि.एच.डी. अध्ययन गरिरहेका प्रमुख संरक्षण अधिकृत शाहले भने ‘बाघ बुढो भएर भोकले वा बिरामी भएर मरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
बाघ मरेको अवस्थामा फेला पर्दा पेट खाली देखिएको बताए । उक्त बाघले केहीदिन देखी स्थानीय बासिन्दाको पशु चौपायालाई आक्रमण गर्दै आएको थियो ।
यो पनि पढ्नुस् :
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया