नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित सामुदायिक वनमा मृत फेला परेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडिएको छ । स्थानीय अशोक सामुदायिक वनभित्र फेला परेको उक्त बाघको बुधबार डिभिजन वन कार्यालय परिसरमा पोष्टमार्टम गरिएको हो ।
पोष्टमार्टम गर्दा देखिएका केही तथ्यले शंका उब्जाएको छ । कर्मचारीका अनुसार मृत भाले बाघ करिव १२ देखी १४ वर्ष उमेरको हो । डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले मंगलबार बेलुका मृत अवस्थामा फेला परेको पाटेबाघको पोष्टमार्टम गर्दा भित्री चोट देखिएको बताए ।
बाघमाथी कतैबाट प्रहारबाट भएको हो कि भन्ने शंका उब्जिएको उनले बताए । यसको यर्थात कुरा थाहा पाउन पोष्टमार्टम रिपोर्ट कुर्नुपर्ने कर्णको भनाई छ । तर, रिपोर्ट आउन कम्तिमा पनि १५ दिन लाग्ने उनले जानकारी दिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले मृत बाघको शरिर हेर्दा धेरै दिनदेखी भोको रहेको हुन सक्ने बताए ।
‘बाघले दुई वटा बाख्रा, दुई वटा भैसी र चार वटा गाई गोरु मारेको थियो, ती मध्ये एउटा बाख्रा मात्रै खाएको थियो, अरु पशुहरुलाई हिर्काएर मारेको अवस्था थियो,’ शाहले भने ‘बाघको शरिर हेर्दाखेरी धेरै दिनदेखी भोको रहेको जस्तो देखिन्छ, रोगी भएर भएर पनि सिकार गर्न असमर्थ भएको कारणले गर्दा सजिलैसँग पशु चौपायालाई मारेको हुन सक्छ ।’
पशु चिकित्सक डा. चित्रबहादुर खड्काले बाघको पोष्टमार्टम गर्दा फोक्सो र कलेजोमा असाधारण अवस्था देखिएको बताए । ‘फोक्सो र कलेजोमा असाधारण अवस्था देखियो, करङको भाग र दुई वटै खुटामा पनि चोट देखिएको छ,’ उनले भने ।
यो पनि पढ्नुस् :
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला